दोधारा – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा प्रभातफेरी तथा जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ।
महाकाली सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना तथा डीसीए, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), युनिसेफ र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

दोधारा चाँदनी नगरपालिका–१० बाट सुरु भएको र्याली वडा नं. ९ स्थित कालिकाहाट बजार क्षेत्रमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यसपछि बजार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले विपद्बाट हुने जोखिम न्यूनीकरण, पूर्वतयारी तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममार्फत स्थानीय समुदायलाई विपद्को जोखिम पहिचान, सम्भावित क्षति न्यूनीकरण तथा विपद्को समयमा अपनाउनुपर्ने सावधानीबारे सचेत गराउने प्रयास गरिएको आयोजकले जनाएको छ।



