दोधारा चाँदनी। भारतमा हालै सम्पन्न नवौँ इन्डो–नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिपमा कञ्चनपुरको दोधारा चाँदनीस्थित नागार्जुन तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक च्याम्पियन ट्रफी जित्न सफल भएको छ।
प्रतियोगितामा डोजाङका खेलाडीहरूले १९ स्वर्ण, १० रजत र ६ कास्य गरी कुल ३५ पदक जितेका छन्। खेलाडी र प्रशिक्षकको कडा मेहनत, लगनशीलता तथा निरन्तर अभ्यासका कारण यो सफलता हासिल भएको डोजाङका प्रमुख प्रशिक्षक अर्जुन तिरुवाले जानकारी दिए।

लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएपछि डोजाङले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सफलता दोहोर्याउने विश्वास व्यक्त गरेको छ।
तर, अन्तर्राष्ट्रियस्तरमा नगर र देशको नाम चिनाउन सफल खेलाडीहरूले स्थानीय सरकारबाट अपेक्षाअनुसार सहयोग र प्रोत्साहन पाउन नसकेको गुनासो गरेका छन्। डोजाङका अनुसार नगरपालिकाका १ देखि १० वटै वडाका अध्यक्षहरूले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै आए पनि प्रतियोगितामा सहभागिता, नियमित प्रशिक्षण तथा अन्य व्यवस्थापनका लागि आवश्यक पर्ने अधिकांश खर्च व्यक्तिगत लगानी र प्रयासबाटै जुटाउनुपर्ने अवस्था छ।
डोजाङले नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूको नेतृत्वमा खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि आगामी दिनमा थप ठोस सहयोग र लगानी हुने अपेक्षा गरेको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार सफलता हासिल गर्दै नगरको पहिचान स्थापित गर्न सफल खेलाडीहरूको उपलब्धिले दोधारा चाँदनीमा खेलकुदको ठूलो सम्भावना रहेको देखाएको छ। खेलाडीको प्रतिभा र मेहनतलाई निरन्तरता दिन स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै प्रशिक्षण, प्रतियोगिता सहभागिता र खेलाडी प्रोत्साहनमा आवश्यक लगानी गर्नुपर्ने देखिन्छ।



