काठमाडौं । शनिबार बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउत व्यापार व्यवसाय धराशायी भएपछि निराश थिए ।
पारिवारिकस्रोतका अनुसार सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीले नदी किनारामा प्रयोग हुने तार जाली(ग्याभिन) को उत्पादन र चीनबाट होम अपिलियन्स (फ्रीज, पंखाजस्ता सामान)आयातको व्यवसाय धराशायी भएपछि केही महिनादेखि उनी तनावमा देखिन्थे ।

उनी सिराहाको लाहानका स्थायीवासी हुन् । उनको बुद्धनगरस्थित बुद्ध विहार छेउमा ठूलो कम्पाउण्डभित्र एक तले घर छ । शनिबारको घटना त्यहीँ भएको हो ।
प्रहरीले छोरासँग विवाद भएपछि आत्मदाह प्रयास गरेको उल्लेख गरेको छ । पारिवारिकस्रोतले भने छोरा झगडालु स्वभावको नभएको जनाएको छ ।
व्यवसाय सञ्चालनमा समस्या भएपछि ललितपुर, भैसेपाटीमा रहेको जग्गा बेच्न खोजेका थिए । विभिन्न कारणले जग्गा बिक्री नहुँदा थप तनावमा थिए ।
व्यावसायिक क्षेत्रका अतिरिक्त उनी सामाजिक कार्यमा पनि सक्रिय छन्। राउत क्षेत्री सेवा समाजका अध्यक्ष समेत हुन्।
समाजका सचिव रोशन राउतका अनुसार शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपी उनले आत्मदाहको प्रयास गरेको बताईएको छ । उनी केही समयअघि मात्र भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएका थिए।




