काठमाडौं, असार १८ — नेपाल सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा वरिष्ठ पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा उहाँलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि गत चैत १६ गतेदेखि महाप्रबन्धक पद रिक्त रहेको थियो। नियुक्तिका लागि आह्वान गरिएको खुला प्रतिस्पर्धामा ३५ जनाको आवेदन परेको थियो भने अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका आधारमा रावल छनोट हुनुभएको हो।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा जन्मिनुभएका रावलको स्थायी बसोबास कैलालीको धनगढी उपमहानगरपालिका–२, सन्तोषीटोलमा रहेको छ। उहाँ पिता टेकबहादुर रावल र माता स्वर्गीय कलिपतीदेवी रावलका सुपुत्र हुनुहुन्छ।

समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएका रावलले वि.सं. २०५७ सालदेखि पत्रकारिता यात्रा सुरु गर्नुभएको हो। उहाँसँग मुद्रण, रेडियो, टेलिभिजन तथा डिजिटल पत्रकारितामा २५ वर्षभन्दा बढीको अनुभव रहेको छ। पछिल्लो समय उहाँ बीबीसी वर्ल्ड सर्भिस (नेपाली सेवा) मा कार्यरत हुनुहुन्थ्यो। यसअघि उहाँले ग्यालेक्सी ४के, न्युज २४ र एभिन्युज टेलिभिजनमा प्रदेश प्रमुख तथा सम्पादकीय नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको थियो।
खोजमूलक पत्रकारिता, सार्वजनिक सरोकारका विषयमा रिपोर्टिङ, द्वन्द्वकालीन तथा संकटकालीन समाचार सम्प्रेषण, वृत्तचित्र निर्माण, सञ्चार व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उहाँको उल्लेखनीय अनुभव रहेको छ। उहाँ सम्पादकीय निष्पक्षता, विश्वसनीयता र उत्तरदायी पत्रकारिताका पक्षधरका रूपमा परिचित हुनुहुन्छ।
पत्रकारितासँगै रावलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुभएको छ। उहाँ नेपाल भारत पत्रकार महासंघको अध्यक्षका रूपमा सात वर्ष सक्रिय रहनुभएको थियो। साथै, ‘भिजिट नेपाल २०२०’ अभियानअन्तर्गत क्यानडामा अन्तर्राष्ट्रिय सञ्चार संयोजकको जिम्मेवारी सम्हाल्दै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनुभएको थियो।
व्यावसायिक दक्षता अभिवृद्धिका लागि उहाँले नेपाल प्रेस इन्स्टिच्युट, अल जजिरा, नेपाल जेसिज तथा अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाबाट खोज पत्रकारिता, टेलिभिजन रिपोर्टिङ, द्वन्द्वकालीन पत्रकारिता, मानवअधिकार, शान्ति पत्रकारिता तथा प्रशिक्षक प्रशिक्षणसम्बन्धी विभिन्न तालिम प्राप्त गर्नुभएको छ।
गोरखापत्र संस्थानको महाप्रबन्धकका रूपमा उहाँले संस्थागत सुशासन, सम्पादकीय विश्वसनीयता, डिजिटल रूपान्तरण, व्यावसायिक उत्कृष्टता तथा सार्वजनिक सेवा पत्रकारितालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ नेतृत्व गरिरहनुभएको छ। सहकर्मीहरूका अनुसार उहाँ सरल, विनम्र, सहयोगी तथा अत्यन्त मिलनसार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।



