कञ्चनपुर — चाडपर्वलाई लक्षित गर्दै सीमा क्षेत्रमा भइरहेको सुरक्षा व्यवस्थाको निरीक्षणका क्रममा गड्डाचौकी पुगेका कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महता समक्ष सुरक्षाकर्मीले तस्करी नियन्त्रणमा देखिएका समस्या र जनशक्ति अभावबारे गुनासो गरेका छन्।
गड्डाचौकी सीमा क्षेत्रको निरीक्षणमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरी लगायत सुरक्षा निकायका अधिकारीहरूको टोली सहभागी थियो।

निरीक्षणका क्रममा सुरक्षाकर्मीले भारतबाट नेपालतर्फ हुने अवैध सामानको ओसारपसार नियन्त्रणमा सीमित जनशक्तिका कारण चुनौती रहेको बताएका थिए। उनीहरूका अनुसार सीमा क्षेत्रमा जम्मा २३–२४ जना जनशक्तिबाट निगरानी गर्नुपर्ने अवस्था छ।
सुरक्षाकर्मीले आफूहरूले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि सुरक्षा निकायमाथि विभिन्न आरोप लाग्ने गरेको गुनासो सांसद महतासमक्ष राखेका थिए। उनीहरूले आवश्यक जनशक्ति तथा सुरक्षा सामग्री थप गर्न पहल गरिदिन आग्रह गरेका थिए।
जवाफमा सांसद महताले सीमा क्षेत्रमा साइकलबाट हुने सामान ओसारपसारलाई मात्रै केन्द्रमा राख्न नहुने बताएका छन्। उनले ठूला सवारीसाधनमार्फत हुने सम्भावित अवैध ओसारपसारलाई समेत समान रूपमा हेर्नुपर्ने बताए।
“साइकललाई मात्रै नहेरौँ, अरू त्योभन्दा ठूला पनि छन्। त्यो गाडी–साडीमा जाने पनि छन्,” सांसद महताले भने।
साइकलमार्फत हुने सामान ओसारपसारको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँदै उनले यस विषयमा सम्बन्धित पक्षसँग छलफल गर्ने बताए। तत्कालका लागि भने चाडपर्व लक्षित सुरक्षा निगरानी प्रभावकारी बनाउन उनले सुरक्षाकर्मीलाई आग्रह गरे।
सञ्चारमाध्यमबाट आउने समाचारका विषयमा समेत सांसद महताले धारणा राखे। प्रमाणबिना समाचार प्रकाशन गरेर कसैको चरित्र हत्या गर्न नहुने बताउँदै उनले केही सञ्चारमाध्यममाथि कानुनी कारबाही भएको दाबी गरे।
“बिना प्रमाण कसैले लेख्छ भने कानुन छ। हामी मिडियासम्बन्धी कडा कानुन ल्याउँदैछौँ। संसद्मा अब कडा विधेयक आउँछ। बिना प्रमाण कसैले कसैको चरित्र हत्या गर्न पाउँदैन,” उनले भने।
सांसद महताले सुरक्षा निकायलाई उपलब्ध स्रोतसाधनअनुसार प्रभावकारी रूपमा काम गर्न आग्रह गर्दै थप सुरक्षा सामग्री आवश्यक भए सम्बन्धित निकायमार्फत माग पठाउन सुझाव दिए। आवश्यक समन्वयका लागि आफूले पहल गर्ने उनको भनाइ थियो।
निरीक्षणका क्रममा उनले कर प्रणाली र राजस्व संकलनको विषयसमेत उठाए। नेपाल सरकारले सडक, पुल, खानेपानीलगायत विकास निर्माणका काम गर्ने भएकाले नागरिकले पनि आफ्नो दायित्वअनुसार कर तिर्नुपर्नेमा उनले जोड दिए।
“हामी नेपाल सरकारले रोड बनाइदियोस्, पुल बनाइदियोस्, खानेपानी दियोस् भन्छौँ। तर नेपाल सरकारलाई ट्याक्स तिर्दैनौँ भने सरकारसँग पैसा कहाँबाट आउँछ? यो कुरा हामीले पनि बुझ्नुपर्छ,” सांसद महताले भने।
गड्डाचौकीमा चाडपर्वको समयमा सीमा आवतजावत बढ्ने भएकाले सुरक्षा निगरानी थप कडा बनाउने विषयमा समेत निरीक्षणका क्रममा छलफल भएको थियो।



