कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका गणपति (एसपी) खुमबहादुर केसीबीच उत्पन्न विवादबारे थप अनुसन्धान गर्न भन्सार विभागले अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएको छ।
विवाद सम्बन्धमा सार्वजनिक भएका विवरणहरूबारे थप बुझ्नुपर्ने र अनुसन्धान गर्नुपर्ने भएकाले भन्सार विभागले अधिकृत भट्टलाई तत्कालका लागि भन्सार कार्यालय गड्डाचौकीको जिम्मेवारीबाट फिर्ता बोलाएको हो।
विभागले उनलाई काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरिसकेको छ। घटनाको विषयमा थप छानबिन भइरहेको र वस्तुस्थिति बुझ्नका लागि यो कदम चालिएको भन्सार विभागले जनाएको छ।




