कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित भाइरल रोडमा भारतीय नम्बर प्लेट (UK06 AH 4472) को मोटरसाइकल कुकुरसँग ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् भने कुकुरको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा घाइते हुने व्यक्ति भीमदत्त नगरपालिका–१० निवासी ४७ वर्षीय देबेन्द्र सार्की रहेका छन्। उनी दोधारा चाँदनी नगरपालिकाबाट घर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल पुर्याएको थियो। टाउकोमा गम्भीर चोट लागेकाले महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार देबेन्द्र सार्कीको अवस्था चिन्ताजनक रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



