दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा इन्फिनिटी लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित जग्गा तथा ऋण विवादमा पीडित पक्ष र संस्थाबीच ३ बुँदे सहमति भएको छ। नगरपालिकामा जनप्रतिनिधि, लघुवित्तका केन्द्रीय प्रतिनिधि र पीडित पक्षबीच भएको त्रिपक्षीय छलफलपछि पीडितहरूले हालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्।
पीडित फूलमाया पाण्डेसहित ८ जना स्थानीय महिलाले इन्फिनिटी लघुवित्तबाट जनही ३ लाख रुपैयाँका दरले ऋण लिएका थिए। ऋण चुक्ता गर्ने क्रममा फूलमाया पाण्डेको नाममा रहेको दोधारा चाँदनी नगरपालिका–६ स्थित २ कठ्ठा जग्गा संस्थाका तत्कालीन कर्मचारी भरत थापाको नाममा नामसारी गरिएको आरोप छ।

त्यसपछि शान्ति पुन मगर लगायतको अर्को समूहमार्फत थप ६ लाख रुपैयाँ ऋण लिइएको र उक्त ऋण चुक्ता गर्न फूलमायाका श्रीमानको नाममा रहेको ४ कठ्ठा ८ धुर जग्गा भरत थापा र अमर चन्दको नाममा पास गरिएको पीडितहरूको भनाइ छ। तर जग्गा पास गरिसकेपछि पनि संस्थाका तत्कालीन कर्मचारी महेश ओझासमेतको मिलेमतोमा ऋण चुक्ता नभएको देखाई संस्थामा अझै ऋण बाँकी रहेको विवरण राखिएको भन्दै पीडितहरूले आन्दोलन थालेका थिए।
छलफलपछि भएको सहमतिअनुसार पीडित पक्षले आफूसँग भएका सम्पूर्ण प्रमाणसहित संस्थामा निवेदन दिने, संस्थाले आवश्यक छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने, साथै घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै पक्षले छानबिन प्रक्रियामा सहयोग गर्ने सहमति भएको छ। संस्थाले यथाशीघ्र ठोस निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएपछि पीडित पक्षले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ।
नगर प्रमुख किशोर कुमार लिम्बुको रोहबरमा सम्पन्न बैठकमा वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेत, इन्फिनिटी लघुवित्तको केन्द्रीय कार्यालयका जोखिम असुली विभाग प्रमुख कृष्ण खनाल, अनुगमन विभाग प्रमुख कुशल खनाल तथा पीडित पक्षका तर्फबाट फूलमाया पाण्डे र शान्ति सुनारको सहभागिता रहेको थियो। सहमति पत्रमा दुवै पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।



