Clickable Banner Ad

शिक्षक आन्दोलनकै बीच कक्षा १२ को परीक्षा वैशाख ११ देखि हुने

वैशाख ०९ – शिक्षा ऐन संशोधनको मागसहित देशभरका शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला कक्षा १२ को वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने भएको छ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षालाई शिक्षक नपरे निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको छ।

बोर्डको बैठकमा सहभागी अधिकांश सदस्यहरूले निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्न सकिने धारणा राखेका थिए। स्रोतका अनुसार, “निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसक्ने कुरै छैन।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यालयहरू र विद्यार्थीहरूले परीक्षा समयमा सञ्चालन गर्न अनुरोध गर्दै आएको बताए। “परीक्षा केन्द्र तोकिएको छ। परीक्षा समयमै होस् भनेर हरेक जिल्लामा समन्वय समिति र विद्यालयहरूलाई तयारी गर्न भनिएको छ,” अध्यक्ष शर्माले जानकारी दिए।

बोर्डका अनुसार करिब ५ लाख ५० हजार विद्यार्थीको भविष्य यस परीक्षासँग जोडिएको हुँदा कुनै हालतमा परीक्षा सार्न नहुने निष्कर्षमा बोर्ड पुगेको हो।

शिक्षकहरू आन्दोलनमा रहे पनि सरकार र बोर्ड परीक्षा समयमै सम्पन्न गर्न दृढ देखिएका छन्। यसबीच विद्यार्थी र अभिभावक भने अन्योल नहोस् भन्ने अपेक्षा गरिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement