कञ्चनपुर, जेठ ९ — डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत रामबिचारी ठाकुर कार्यकक्षमै कालोमसोको चपेटामा परेका छन्। बिहीबार अपराह्न तीन जनाको समूह वन कार्यालयमा प्रवेश गरी ठाकुरमाथि कालोमसो फालेर फरार भएका हुन्।
वन अधिकृत ठाकुरका अनुसार ती तीन जना व्यक्ति सेवाग्राहीको रूपमा कार्यालयमा आएका थिए। उनीहरूले “खल्ला मसेट्टी सामुदायिक वनको मुद्दा के भयो?” भनेर सोधपुछ गरेका थिए। ठाकुरले उक्त मुद्दा तीन वर्ष पुरानो भएको जानकारी दिँदै, “म बुझेर जानकारी दिन्छु” भने लगत्तै उनीहरूले कालोमसो फालेर भागेको उनले बताए।
घटनापछि मसो फालिएको भिडियो ‘कम्युनिस्ट युवा संगठन नेपाल’ नामक फेसबुक पेजमा सार्वजनिक गरिएको छ। भिडियोमा “प्रष्टाचार गर्छस्? दलाली गर्छस्?” भन्दै एक व्यक्तिले ठाकुरको कार्यालय पोसाकमै कालोमसो फालेको स्पष्ट देखिन्छ।
हालसम्म मसो फाल्ने व्यक्तिको औपचारिक पहिचान हुन सकेको छैन। तर, उक्त फेसबुक पेजमा यसअघि पनि यस्तै प्रकारका कालोमसो हानेका भिडियाहरू राखिएका कारण यही समूहको संलग्नता भएको आशंका गरिएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण डकालले वन अधिकृत ठाकुरले घटना सम्बन्धमा जानकारी गराएको पुष्टि गरेका छन्। “अधिकृतले आफूमाथि मसो फालिएको रिपोर्ट गरेका छन्, तर कसले फाल्यो भन्ने यकिन छैन। अनुसन्धान भइरहेको छ,” प्रजिअ डकालले बताए। “जो कोही भए पनि दोषीमाथि कानूनी कारबाही हुन्छ।”
भिडियो हेर्नुहोस्…
https://www.facebook.com/share/v/18YgYb2ezV
![]()