दोधारा चाँदनी, बैशाख १६ – संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा दोधारा–चाँदनी क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै दुई महत्वपूर्ण आयोजना अगाडि बढाउने घोषणा गरेको छ। बिहीबार संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट वक्तव्यमा सुक्खा बन्दरगाह निर्माण र दोधारा–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि बजेट सुनिश्चित गरिएको हो।
सुक्खा बन्दरगाह निर्माण: भारतसँगको व्यापार विस्तार र वस्तु ढुवानीलाई सहज बनाउन दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइने भएको छ। यसले सीमा क्षेत्रको आर्थिक क्रियाकलापमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
४०० केभी प्रसारण लाइन: दोधारा–बरेली ४०० केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य पनि बजेटमार्फत अघि बढाइनेछ। यस आयोजनाबाट राष्ट्रिय ऊर्जा प्रणालीमा थप सुदृढता आउने विश्वास गरिएको छ।
साथै, भूमिसम्बन्धी समस्याको समाधानतर्फ सरकारको ध्यान केन्द्रित भएको देखिन्छ। बजेटमा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने उल्लेख छ। दोधारा चाँदनीमा भूमि आयोगमार्फत जग्गा नापजाँचको काम पनि तीव्र गतिमा भइरहेको छ।
स्थानीयवासी र सरोकारवाला निकायहरूले बजेटमा दोधारा–चाँदनीको पहिचान र सम्भावनालाई सम्बोधन गरिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। स्थानीय नेताहरूले यसपटक बजेटले दोधारा–चाँदनीलाई समेट्न सकेको बताउँदै योजनाहरू समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
![]()