दोधारा चाँदनी –
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–०१, पशुपति टोलमा नेपाली भूमिभित्र निर्माणाधीन घरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको छ। लालपुर्जाधारी लक्ष्मण दमाईले कित्ता नं. २९२५ मा सरकारी नक्साअनुसार जग्गा नापजाँच गराई घर निर्माण सुरु गरेका थिए। तर पछिल्ला तीन दिनदेखि भारतीय एसएसबीले “यो सिमानामा पर्छ” भन्दै निर्माण कार्य रोक्न दबाब दिँदै आएको उनको आरोप छ।

“मैले लालपुर्जासहित अमिन ल्याएर घरको जग खनेको हुँ,” दमाईले दोधारा चाँदनी खबरसँग भने, “तर भारतीय एसएसबी बारम्बार आएर उता सार्न भनिरहेको छ। यो नेपाली जमिन हो भन्ने प्रमाण हुँदा पनि दबाब दिनु दुःखद हो।”
स्थानीय परमानन्द भट्टका अनुसार, दमाई मात्र होइन, अन्य सीमावर्ती बासिन्दा पनि वर्षौंदेखि यस्तै समस्यामा छन्।
“२०२३ सालदेखि हामी यही ठाउँमा बस्दै आएका छौं। सीमावर्ती क्षेत्रमा केही बनाउन खोज्दा भारतीय एसएसबी आएर रोकेको धेरैपटक भएको छ,” उनले बताए।
प्रशासन अनविज्ञ, अनुसन्धानका लागि सुरक्षाकर्मी खटाइँदै
घटनाबारे जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले हालसम्म कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन्।
“मलाई यस्तो विषयबारे औपचारिक जानकारी आएको छैन। म सशस्त्र प्रहरी र इलाका प्रहरीलाई घटनास्थलमा बुझ्न पठाउँछु,” ढकालले भने।
पत्रकारमाथि पनि रोक: सशस्त्र प्रहरीद्वारा रिपोर्टिङमा अवरोध
घटनाको स्थलगत रिपोर्टिङका लागि पुगेका दोधारा चाँदनी खबरका पत्रकारलाई सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत भूमिराज बोर्डर आउट पोस्ट (BOP) का प्रहरी निरीक्षक अमित मल्लले सिमावर्ती क्षेत्रमा रिपोर्टिङ गर्न पूर्वअनुमति लिनु पर्ने भन्दै फोटो तथा भिडियो खिच्न रोक लगाएका छन्।
“सार्वजनिक क्षेत्रमा समाचार संकलन गर्दा पनि रोकिनु प्रेस स्वतन्त्रताको उल्लंघन हो,” पीडित पत्रकारले प्रतिक्रिया दिएका छन्।
स्थानीयको आक्रोश र माग
स्थानीय नागरिकहरू आक्रोशित छन् कि आफ्नो भूमि, लालपुर्जासहित प्रमाण भए पनि भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्नु राष्ट्रिय स्वाभिमानमाथिको चोट हो। उनीहरूले सरकारसँग निम्न माग राखेका छन्:
- सीमामा स्पष्ट चिन्ह (पिलर) स्थापना गरियोस्,
- नागरिकले कानुनी रुपमा पाएका जग्गामा स्वतन्त्रता पूर्वक निर्माण गर्न पाओस्,
- भारतसँग कूटनीतिक तहमा संवाद गरेर यस्ता हस्तक्षेप रोकियोस्।
नेपाल–भारत सीमामा यसअघि लिपुलेक, कालापानी, सुस्ता लगायत ठाउँमा विवाद रहँदै आएको हो। अब शान्त मानिने सुदूरपश्चिमको दोधारा चाँदनी क्षेत्रमा पनि यस्ता विवाद देखिनु चिन्ताजनक संकेत हो। विज्ञहरूका अनुसार सरकारले सीमा सुरक्षालाई मजबुत बनाउँदै स्थानीय नागरिकको हक र स्वतन्त्रता सुनिश्चित गर्नु अत्यावश्यक छ।
![]()