दोधारा चाँदनी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले आधारभूत तह (कक्षा ८) को परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सामुदायिक र निजी गरी नगरपालिकाभित्रका २३ विद्यालयबाट १,१३९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
तीमध्ये ७५३ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ६६ रहेको छ। विद्यालयगत नतिजा अनुसार हिमालयन चाँदनी, युनिक सनराइज, नोभाइस तथा सुदूरपश्चिम विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। विद्यार्थी संख्याका हिसाबले शारदा सरस्वती माध्यमिक विद्यालयमा सबैभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
गत वर्षको तुलनामा यस वर्ष नतिजामा उल्लेखनीय सुधार देखिएको शिक्षा शाखाले जनाएको छ। गत वर्ष कुल ९१० विद्यार्थीमध्ये ८६८ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये १८५ जना मात्र उत्तीर्ण भएका थिए भने ७२५ जना अनुत्तीर्ण भएका थिए। त्यस अवधिमा ३ वटा विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेका थिएनन्।
यस वर्षको नतिजाले शैक्षिक सुधारतर्फ सकारात्मक संकेत गरेको देखिए पनि स्थानीय तहमा केही प्रश्नहरू समेत उठेका छन्। प्रश्नपत्र लिक भएको तथा परीक्षा केन्द्रमा कडाइ कमजोर भएको भन्ने गुनासाहरू सार्वजनिक भएका छन्। तर शिक्षा शाखाले ती आरोपहरूलाई निराधार हल्ला मात्र भएको स्पष्ट पारेको छ।
यसैबीच, उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बिकले विद्यालयको निरन्तर प्रयास र योजनाबद्ध तयारीका कारण सुधार सम्भव भएको बताए। उनका अनुसार विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा सहित अध्ययनको वातावरण तयार गरिएको थियो।
त्यसैगरी, गत वर्ष एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन नसकेको ओमकार आधारभूत विद्यालयले यस वर्ष उल्लेखनीय सुधार गर्दै करिब ५१ प्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयले गत वर्षको कमजोर प्रदर्शनपछि नियमित अध्ययन, निगरानी र अतिरिक्त कक्षामार्फत सुधार गरिएको जनाएको छ।
![]()