Clickable Banner Ad

भीमदत्त-९ का वडावासी आन्दोलित, माग पूरा गर्न ७ दिने अल्टिमेटम

भीमदत्त- भीमदत्त नगरपालिकाकै भौगोलिक रूपमा सबैभन्दा ठूलो वडा मानिने वडा नम्बर ०९ का स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। वडा कार्यालयमा प्रशासनिक नेतृत्व नहुँदा र मुख्य सडक खण्ड अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको भन्दै स्थानीयले संयुक्त रूपमा एक प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन्।

Advertisement

स्थानीय बासिन्दाहरूका अनुसार वडा कार्यालयमा लामो समयदेखि सचिव नहुँदा सामान्य प्रशासनिक कामका लागि समेत एउटै कामका लागि ३ देखि ४ दिनसम्म धाइनु पर्ने बाध्यता छ।

यसैगरी, ब्रह्मदेव बजारदेखि टुँडिखेल खुल्ला मुषेट्टी जाने सडक खण्ड विगत केही समयदेखि अवरुद्ध रहेको छ। सडक बन्द हुँदा स्थानीयहरू जोखिमपूर्ण रूपमा महाकाली नदी तरेर आवतजावत गर्न बाध्य छन्। यस गम्भीर समस्याबारे सम्बन्धित निकायमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको र सम्बन्धित निकाय चरम गैरजिम्मेवार बनेको स्थानीयको आरोप छ।

७ दिने अल्टिमेटम र आन्दोलनका कार्यक्रम

स्थानीय अगुवाहरू राकेश राम टमाटा, रमेश नाथ, देवेन्द्र नाथ, राकेश चन्द, र दिपेन्द्र सिंह ऐरी लगायत ठूलो संख्यामा वडावासीहरूले हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा आफ्ना २ वटा मुख्य मागहरू ७ दिनभित्र निःसर्त सम्बोधन गर्न माग गरिएको छ।

उक्त अवधिभित्र माग पूरा नभए निम्न बमोजिमका सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिइएको छ:

  • वडा कार्यालयमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्ने।
  • क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूको फोटो र प्लेकार्डसहित सडक प्रदर्शन गर्ने।
  • माग पूरा नभएसम्म वडा कार्यालयमा तालाबन्दी गर्ने।

यस अल्टिमेटमबाट पनि समस्या समाधान नभए थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत प्रेस वक्तव्यमार्फत दिइएको छ।

Loading

Advertisement
Advertisement