Clickable Banner Ad

विद्यार्थी आन्दोलनको अग्रमोर्चाबाट एमाले केन्द्रीय राजनीतितर्फ ओम बस्नेत

अनेरास्ववियुबाट सुरु भएको यात्रा, जनआन्दोलनदेखि वडाध्यक्ष हुँदै केन्द्रीय नेतृत्वतर्फ युवा आशा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ का ३८ वर्षीय वडाध्यक्ष ओमबहादुर बस्नेत विद्यार्थी राजनीतिबाट उदाउँदै पार्टी राजनीतिमा स्थापित भएका युवा नेतामध्ये एक हुन्। हाल उनी नेकपा (एमाले) को ११औँ महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा आकांक्षी छन्।

Advertisement

एमालेको हालै सम्पन्न महाधिवेशनमा सहभागी २ हजार २ सय ६८ प्रतिनिधिमध्ये करिब ५ सय जना ४० वर्षमुनिका युवा थिए। तीमध्ये १६५ जना युवा क्लस्टरबाट निर्वाचित भएका हुन्। यही पुस्ताभित्र पर्ने दोधारा चाँदनी–६ का निर्वाचित वडाध्यक्ष बस्नेत संगठनभित्र होनहार प्रतिनिधिका रूपमा चिनिएका छन्।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय आन्दोलनसम्म

कक्षा १० मा अध्ययनरत रहँदा अनेरास्ववियुबाट प्रेरित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका बस्नेतले कक्षा कमिटीबाट संगठनात्मक यात्रा सुरु गरे। २०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा उभिएका उनी अनेरास्ववियुको जिल्ला सदस्य, जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कमिटी सचिवालय सदस्यसम्म पुगे।

नगर कमिटीदेखि जिल्ला कमिटी सचिवालय सदस्यसम्म जिम्मेवारी सम्हाल्दै संगठन मजबुत बनाउन उनले सक्रिय भूमिका निर्वाह गरेका छन्।

द्वन्द्वकालमा निशानामा

माओवादी द्वन्द्वकालमा बस्नेत निशानामा परे। २०६७ साल फाल्गुन ११ गते माओवादीद्वारा उनको मोटरसाइकलमा आगजनी गरिएको थियो, तर आन्दोलन र राजनीतिप्रतिको प्रतिबद्धताबाट उनी पछि हटेनन्।

आन्दोलनको अग्रमोर्चामा

कञ्चनपुरलाई लोडसेडिङमुक्त बनाउने आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका बस्नेत सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका लागि भएको आन्दोलनमा घाइतेसमेत भए। निरन्तर दबाबपछि विश्वविद्यालय स्थापना सम्भव भएको थियो।

‘युवा भोटर मात्रै होइनन्’

२०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित बस्नेत युवालाई केवल भोटरका रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताउँछन्।
उनका अनुसार,
“देशमै सम्भावना छ भन्ने विश्वास जगाउनुपर्छ। कुन ठाउँमा के अवसर छ, सरकारले युवालाई के सहुलियत दिन्छ, विदेश र स्वदेशको विकल्पबारे स्पष्ट जानकारी दिन जरुरी छ।”

उनले विकास निर्माणको शैली सुधार्नुपर्ने र उपभोक्ता समितिमार्फत हुने काममा देखिएका विकृति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

अन्त्यमा उनी भन्छन्,
“अब समयअनुसार युवाको चाहना बदलिएको छ। त्यसलाई बुझेर मात्रै राजनीति अघि बढ्न सक्छ।”

Loading

Advertisement
Advertisement