दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल नजिक रहेको सामुदायिक बन व्यक्तिको नाममा दर्ता गरिएको विषय सार्वजनिक भएको छ। उक्त बन लामो समयदेखि स्थानीय ३५ घरधुरीले सामूहिक रूपमा प्रयोग गर्दै आएको बताइन्छ।
स्थानीय धन सिंह ठगुन्नाका अनुसार बन फिर्ता ल्याउन पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन। “हामीले धेरै कोसिस गर्यौँ, तर राजनीतिक र पैसाको पावर अगाडि केही लागेन, अहिले त हामी थाकिसकेका छौँ,” उनले बताए। उनका अनुसार बनको जग्गा केवल आफ्नो नाममा राख्ने मात्र नभई घडेरीका रूपमा समेत बिक्री गरिएको आरोप छ।
एक स्थानीय महिलाले आफ्नो परिवारको जमिनसमेत जालझेल गरेर हडपिएको गुनासो गरिन्। “मेरो ससुराको पालादेखिको जमिन आफ्नो नाममा गरियो, अहिले हामीलाई नै जमिन छोड्न धम्की दिइरहेको छ,” उनले भनिन्।
धवल सिंह धामीका अनुसार २०६०/६१ सालतिर बैंकका कर्मचारीहरू उक्त बनको जग्गा अवलोकन गर्न आएपछि मात्रै वास्तविकता बाहिर आएको थियो। “त्यो बेला थाहा भयो कि बनको जग्गा बैंकमा धितो राखिएको रहेछ। हामीले धेरै संघर्ष गर्यौँ, तर केही गर्न सकेनौँ,” उनले बताए। अहिले देशमा सुशासनको अपेक्षा बढेको उल्लेख गर्दै उनले अहिले बनेको नयाँ सरकारसँग न्यायको आशा व्यक्त गरेका छन्।
स्थानीयका अनुसार उक्त कार्य हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा मालिका आधारभूत विद्यालयका शिक्षक पदम सिंहको संलग्नतामा भएको आरोप छ। उनी राजनीतिक रूपमा पनि प्रभावशाली व्यक्तिसँग निकट रहेको दाबी गरिएको छ।
स्थानीयवासीहरूले यो विषयलाई सामान्य विवाद नभई सामुदायिक सम्पत्तिमाथिको गम्भीर अतिक्रमणका रूपमा लिएका छन्। उनीहरूले नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र बन फिर्ता गराउन माग गरेका छन्।
स्थानीयको स्पष्ट माग छ
“यो विषय सानो होइन, यसलाई गम्भीरतापूर्वक हेरी दोषीमाथि कडा कारबाही गरियोस्।”
यदि समयमै छानबिन नभए, यसले थप सामाजिक असन्तोष र आन्दोलन निम्त्याउने चेतावनीसमेत स्थानीयले दिएका छन्।
![]()