Clickable Banner Ad

दोधारा चाँदनी–८ मा सम्पन्न IPM पाठशालाबाट कृषकहरू उत्साहित

कञ्चनपुर, जेठ ३ — कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा सञ्चालित एकता एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कृषक पाठशालाको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिका–८, जकटोलमा आयोजना गरिएको कार्यक्रममा सहभागी कृषकहरूले १६ हप्ते व्यावहारिक तालिम सफलतापूर्वक सम्पन्न गरेका हुन्।

Advertisement

एकता IPM कृषक समूहका अध्यक्ष टिका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगादेवी जोशी प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो। कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत धर्मराज साउद, वडा नं. ८ का सदस्य भरत नेपाली, महिला सदस्य चन्द्रकला सुनार, वडा नं. ७ का सदस्य सन्दीप उपाध्यायलगायत स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा २५ जना कृषकहरूलाई एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिम अवधिमा कृषकहरूले प्रत्यक्ष खेतमै प्रयोगात्मक अभ्यास गर्दै जैविक, दीगो तथा वातावरणमैत्री कृषि प्रविधिहरू सिकेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष टिका मगरले भन्नुभयो,
“१६ हप्तासम्म सञ्चालित यस कृषक पाठशालाबाट हामीले सिकेका सीप र ज्ञानहरू अब व्यवहारमा उतार्नेछौं। यसले हाम्रो उत्पादन वृद्धि गर्न र खर्च घटाउन ठूलो सहयोग पुग्ने विश्वास लिएको छु। किसानलाई खेतमै पुगेर ज्ञान बाँड्ने यस्तो कार्यक्रम अत्यन्त प्रभावकारी छ।”
उहाँले कृषि ज्ञान केन्द्रप्रति आभार व्यक्त गर्दै यस्ता तालिमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, प्रमुख अतिथि उपप्रमुख गंगादेवी जोशीले यस्ता तालिम कार्यक्रमहरू स्थानीय तहको दीगो कृषि विकासमा उपयोगी रहेको बताउँदै भनिन्,
“कृषकहरूलाई व्यावहारिक सीप र ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रमहरूले स्थानीय तहमा दिगो कृषि प्रणाली विकासमा टेवा पुर्‍याउँछन्। नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ फराकिलो रूपमा विस्तार गर्ने प्रतिबद्धता लिन्छु।”

कार्यक्रमका सहभागी कृषकहरूले तालिमले आफूहरूको कृषि ज्ञानमा ठूलो परिवर्तन ल्याएको अनुभव साटासाट गरेका थिए। जैविक तरिकाबाट उत्पादन बढाउन सिकेको र लागत कम गर्दै वातावरण अनुकूल खेती सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

कृषि ज्ञान केन्द्रका अनुसार यस्ता तालिमहरूले दीगो कृषि प्रणालीमा टेवा पुग्नुका साथै कृषकहरूको आत्मनिर्भरता वृद्धि गर्न मद्दत गर्नेछ।

Loading

Leave a Comment

Advertisement
Advertisement