दोधारा चाँदनी, कञ्चनपुर।
दोधारा चाँदनी नगरपालिका वडा नं. ६ ले केन्द्र तथा प्रदेश सरकारबाट महत्वपूर्ण बजेट भित्र्याउन सफल भएको छ। वडा अध्यक्ष ओम बहादुर बस्नेतको पहलमा विद्युत लाइन विस्तार तथा मर्मतका लागि १८ लाख ५० हजार रुपैयाँ र कृषि व्यवस्थापन कार्यक्रमका लागि ९९ लाख रुपैयाँ बजेट वडामा ल्याइएको हो।
वडा अध्यक्ष बस्नेतका अनुसार विद्युत लाइन विस्तार तथा मर्मतको काम सुरु भइसकेको छ भने कृषि प्रवन्धन सम्बन्धी कार्यक्रम आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। उनले वडाको दीर्घकालीन विकासका लागि आवश्यक स्रोतसाधन जुटाउन निरन्तर पहल गरिरहेको बताए।
स्थानीय कमला थापाका अनुसार दोधारा चाँदनी नगरपालिकाभित्र सबैभन्दा तीव्र र बढी विकास भएको वडा नं. ६ नै हो। “देशमा जति परिवर्तन भए पनि हाम्रो वडाको विकास कहिल्यै रोकिएको छैन। अहिले पनि करिब १ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएर विकासका नयाँ ढोका खोलिएको छ,” उनले भनिन्।
वडा सदस्य सपना रानाले नगरपालिकाबाट प्राप्त हुने ५०–६० लाख रुपैयाँको बजेटले मात्र वडाको समग्र विकास सम्भव नहुने बताउँदै वडा अध्यक्ष बस्नेतले प्रदेश र केन्द्र सरकारसम्म पुगेर थप बजेट ल्याएकै कारण वडामा उल्लेखनीय विकास सम्भव भएको बताइन्।
“वडाको समृद्धिका लागि आवश्यक योजनाहरू कार्यान्वयन गर्न स्थानीय तहको नियमित बजेट मात्र पर्याप्त थिएन। वडा अध्यक्ष विकासका लागि प्रदेश र केन्द्र धाउनुभयो, जसको परिणामस्वरूप आज वडामा ठूला योजनाहरू सञ्चालन हुन सकेका छन्,” रानाले भनिन्।
वडा अध्यक्ष बस्नेतले सरकार जुनसुकै दलको बने पनि त्यसको उद्देश्य जनताको सेवा र विकास नै हुनुपर्ने धारणा व्यक्त गरे। “जनताका गुनासा, आवश्यकता र दुःखलाई सरकारसम्म पुर्याउन सक्नुपर्छ। जनप्रतिनिधिको मुख्य जिम्मेवारी नै नागरिकको आवाज सम्बन्धित निकायसम्म पुर्याउनु हो,” उनले भने।
उनले वडा मात्र नभई सम्पूर्ण पालिकाको विकास सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि सबै तहका सरकारबीच समन्वय, प्रतिबद्धता र विकासप्रतिको इच्छाशक्ति आवश्यक पर्ने बताए।
केन्द्र र प्रदेशबाट थप बजेट भित्रिएसँगै वडा नं. ६ मा विद्युत सेवा सुधार, कृषि क्षेत्रको आधुनिकीकरण तथा स्थानीय उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि विकास निर्माणका कामले गति लिँदै गएको भन्दै आगामी दिनमा अझ ठूला योजनाहरू सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।
![]()