दोधारा चाँदनी, कञ्चनपुर — अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र नियमावली, २०७७ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यसहित दोधारा चाँदनी नगरपालिकामा एक दिने प्रविधिकरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रमको सभाध्यक्ष सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशी रहनु भएको थियो। दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख गंगादेवी जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नगर क्षेत्रका वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुख, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष, माध्यमिक विद्यालय तहका विद्यालय व्यवस्थापन समिति (SMC) तथा अभिभावक–शिक्षक संघ (PTA) का अध्यक्षहरू, साथै विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा बोल्दै प्रमुख जोशीले कक्षा १ देखि ८ सम्मको आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क रहेको जानकारी दिनुभयो। साथै, कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहसमेत निःशुल्क नै हुने व्यवस्था रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमले स्थानीय तह, विद्यालय प्रशासन र अन्य सरोकारवालाबीच शिक्षा ऐन तथा नियमावलीप्रति जानकारी र समझदारी बढाई त्यसको प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ।
![]()