दोधारा चाँदनी- नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा महामानव बि. पि. कोइरालाको ४३ औं स्मृति दिवस दोधारा चाँदनीमा श्रद्धापूर्वक मनाइएको छ।
नेपाली कांग्रेस दोधारा चाँदनी नगर समितिको आयोजनामा पार्टी कार्यालय परिसरमा सोमबार बिहान १० बजे दीप प्रज्वलन र टीका लगाएर कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना मगर, कांग्रेस नगर सभापति राजेन्द्र मल्ललगायत स्थानीय नेता, पदाधिकारी र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले बि. पि. कोइरालाको जीवन संघर्ष, लोकतन्त्रप्रतिको प्रतिबद्धता र समाजवादप्रतिको दृष्टिकोणको चर्चा गर्दै वर्तमान राजनीतिक परिवेशमा उहाँको विचार झनै सान्दर्भिक बन्दै गएको बताएका थिए। लोकतन्त्र र समाजवादको समिश्रणको बाटो देखाउने बि. पि. को दर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागिता जनाएपछि कांग्रेस कार्यकर्ताहरूको टोलीले दोधारा चाँदनी अस्पताल पुगेर उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका थिए। उक्त सामाजिक कार्यमा स्थानीय युवा नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता देखिएको थियो।
स्मृति दिवसको सन्दर्भमा आगामी दिनहरूमा बि. पि. कोइरालाको जीवनी, विचार र राजनीतिक दृष्टिकोणबारे विचार गोष्ठी तथा पाठशाला सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएको छ।
![]()