दोधारा चाँदनी, बैशाख १८
छाडा चौपाया व्यवस्थापनका लागि दोधारा चाँदनी नगरपालिकाबाट विनियोजित बजेटको दुरुपयोग भएको आरोप पछिल्लो समय चुलिँदै गएको छ। वडा नं ७ मा मर्ने अवस्थामा गाई फेला परेको घटनाले यथार्थतर्फ संकेत गर्दा स्थानीय नागरिकले योजनाको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार प्रत्येक वर्ष लाखौं रुपैयाँ चौपाया व्यवस्थापनका लागि छुट्याइए पनि समस्या झन चर्किदै गएको छ। आजै काजीखोर नजिकै मर्ने अवस्थामा गाई फेला परेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नागरिकहरूले योजना कार्यान्वयनको माग गरेका छन्।


यसैबीच, वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकले बजेट अपुग भएको र आहारा व्यवस्थापनमा कठिनाइ आएको स्वीकार गरेका छन्। उनका अनुसार वडा भित्र हाल २ वटा कान्जीखोर संचालनमा छन् र ४ जना हेरालाको व्यवस्था गरिएको छ। तर जनावरको संख्या बढ्दै गएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको हो।
नगर प्रमुख किशोर कुमार लिम्बुले भने केही दिन अगाडी सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफु निर्वाचित भएपछी छाडा चौपाया पुर्णरुपमा व्यवस्थापन भएको बताएका छन्। सो कुरा नगर प्रमुख लिम्बुले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्।

यद्यपि, स्थानीयले नगर प्रमुखको भनाइ र वास्तविक स्थितिबीच ठूलो अन्तर रहेको भन्दै व्यावहारिक सुधारको माग गरेका छन्। “फेसबुकमा स्टाटसले होइन, गाईलाई घाँस र हेरचाह चाहिएको हो,” स्थानीय बासिन्दाले टिप्पणी गरेका छन।
