Clickable Banner Ad

उपमेयरको सक्रियताले अदालतको सट्टा पालिकामै विवाद समाधान सम्भव

कञ्चनपुर, दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक गंगा जोशीको नेतृत्वमा पछिल्ला तीन आर्थिक वर्षमा ८६ वटा विवाद मेलमिलापमार्फत समाधान भएका छन्। समितिमा दर्ता भएका १४३ मुद्दामध्ये छलफल, मेलमिलाप र पारस्परिक समझदारीका आधारमा यी मुद्दा फर्छ्यौट भएका हुन्। बाँकी ४४ मुद्दा हाल प्रक्रियामा रहेका छन्।

Advertisement

उपमेयर जोशीका अनुसार, स्थानीय तहमै विवाद समाधानको व्यवस्था हुँदा अदालत धाउनुपर्ने झन्झटबाट सर्वसाधारण मुक्त हुन थालेका छन्।

निर्वाचित भएर आएका बेला हामी घरमै गएर मेलमिलाप गरेका थियौं,” उपमेयर जोशीले भनिन्, “अदालतले सुल्झाउन नसकेका कतिपय मुद्दा पनि हामीले पालिकामै समाधान गरेका छौं।”

उनका अनुसार, आर्थिक वर्ष २०७९/८० मा ५३ मुद्दा दर्ता भई ४० फर्छ्यौट भएका थिए। २०८०/८१ मा दर्ता भएका ४७ मध्ये २८ वटा मेलमिलापबाट समाधान भए। चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ४३ मुद्दा दर्ता भएका छन्, जसमध्ये १८ फर्छ्यौट भइसकेका छन् भने १६ अझै प्रक्रियामा छन्।

उपमेयर जोशीका अनुसार बाँकी विवाद समाधानमा ढिलाइ हुनुमा सम्बन्धित व्यक्ति नै नआउनु, भारत गएका कारण सम्पर्क नहुनुजस्ता कारण देखिएको छ।

“समस्या आएपछि दुबै पक्ष मिलेर खुसीसाथ फर्किनु नै हाम्रो सफलता हो,” उनले भनिन्, “हामी निरन्तर अनुगमन पनि गरिरहेका छौं।”

स्थानीय स्तरमै विवाद टुंगिँदा समय र खर्च बचत भएको अनुभव स्थानीयहरूले गरेका छन्। एक स्थानीय बासिन्दाले भने, “अब अदालत जानुपर्दैन भन्ने आश्वस्ति भएको छ, पालिकामै समाधान हुने विश्वास बढेको छ।”

न्यायिक समितिमा आएका मुद्दाहरूमा लेनदेन, ज्यालादारी, घरायसी झगडा, घरेलु हिंसा, बाटो विवाद, अंशबन्डा, सादिआली सरेको र नागरिकता सम्बन्धी विविध प्रकृतिका विषयहरू रहेका छन्।

गंगा जोशीको नेतृत्वमा न्यायिक समितिले न्यायिक संयन्त्रको भरपर्दो विकल्पका रूपमा आफूलाई स्थापित गर्दै लगेको देखिन्छ। “हामी निष्पक्ष र न्यायसंगत ढंगले समस्या समाधानमा जुटिरहेका छौं,” जोशीले भनिन्, “स्थानीय तहको न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ।”

Loading

Leave a Comment

Advertisement
Advertisement