काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएका हेमराज भट्ट अहिले युवा नेतृत्व, उद्यमशीलता र शैक्षिक क्षेत्रका परिचित नाम बनेका छन्।
कैलालीको अत्तरियामा सामान्य किसान परिवारमा जन्मिएका भट्टले सानैदेखि आत्मनिर्भर बन्ने लक्ष्यसहित संघर्षपूर्ण मेहनतको यात्रा सुरु गरेका थिए। बिहान ३ बजे उठेर साइकलमा फलफूल बेच्ने कामदेखि सुरु भएको उनको यात्रा आज शिक्षा, व्यवसाय र राजनीतिसम्म पुगेको छ।

हालै चितवनमा सम्पन्न रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट खुला तर्फ लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुँदै उनले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय नीति निर्माण तहमा स्थान बनाउन सफल भएका हुन्।
उच्च शिक्षा अध्ययनकै क्रममा उनले ‘क्यारियर स्टेशन’ नामक शिक्षा परामर्श संस्था स्थापना गरे, जुन अहिले सफल शैक्षिक कम्पनीका रूपमा स्थापित छ। उनी हाल मिल्टन कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा कार्यरत छन्। साथै विभिन्न व्यावसायिक संस्थामा व्यवसायिक परामर्शदाताका रूपमा सक्रिय रहँदै ५० भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् भने सयौँ नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि मार्गदर्शन गरिरहेका छन्।
सामान्य परिवारबाट उठेर शिक्षा, उद्यम र राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भट्टको केन्द्रीय नेतृत्वमा चयनले सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व थप बलियो बनेको सन्देश दिएको छ।



