Clickable Banner Ad

समाज भड्काउने आरोप लागेको ‘दोधारा चाँदनीको आवाज’ फेसबुक आइडी अचानक गायब

कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा सामाजिक सञ्जालमार्फत विवादास्पद गतिविधि गर्दै आएको “दोधारा चाँदनीको आवाज” नामक फेसबुक आइडी अचानक गायब भएको छ। हिजो रातिदेखि उक्त आइडी खोज्दा नदेखिएको स्थानीयहरूले बताएका छन्।

Advertisement

उक्त आइडीमार्फत समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने, चन्दाको नाममा असुली गर्ने लगायतका गतिविधि गरिएको आरोप लाग्दै आएको थियो। विशेषगरी जेन जी आन्दोलनका क्रममा मेयरको घर जलाउनुपर्छ भन्ने आशयको सन्देश पठाइएको स्क्रिनसट सार्वजनिक भएपछि विवाद थप चर्किएको थियो। त्यसपछि सम्बन्धित व्यक्तिले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै माफी मागेको पोस्टसमेत सार्वजनिक गरेको बताइएको छ।

हाल उक्त आइडी चलाउने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने माग स्थानीय तहमा तीव्र बनेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता डम्मर सिंह साउदका अनुसार, यस्ता गतिविधिले समाजमा गलत सन्देश जाने भएकाले दोषीलाई कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ।

यसैबीच, साउदले आफूलाई लक्षित गर्दै धम्कीपूर्ण सन्देशसमेत आएको बताएका छन्। “केही व्यक्तिहरूले ‘मेरो आइडी हो, के गर्छस्’ भन्दै धम्क्याउने प्रयास गरेका छन्, बाँकी प्रमाणहरू जुटाउने क्रम जारी छ,” उनले बताए।

सरोकारवालाहरूले यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई समयमै नियन्त्रणमा नल्याइए समाजमा असुरक्षा र अव्यवस्था बढ्ने खतरा रहने बताएका छन्। साथै सामाजिक सञ्जालको दुरुपयोग रोक्न सम्बन्धित निकायले प्रभावकारी निगरानी र कारबाही गर्नुपर्ने मागसमेत गरिएको छ।

Loading

Advertisement
Advertisement