दोधारा चाँदनी, असार १६
दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित श्री ध्रुवतारा पब्लिक सेकेण्डरी स्कूल ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा नगरभरिमै सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयका अनुसार कक्षा १० को परीक्षामा सहभागी भएका २७ जना विद्यार्थीमध्ये २६ जना उत्तीर्ण भएका छन्। ९६.२९ प्रतिशत उत्तीर्णताको दरसहित विद्यालयले यस वर्ष दोधारा चाँदनी नगरपालिकाभित्रकै सबैभन्दा उल्लेखनीय सफलता हासिल गरेको हो।
विद्यालयका प्रबन्ध निर्देशक कुशाल सिंह साउद ले भने, “शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै विद्यालयले निरन्तर मेहनत गर्दै आएको छ। विद्यार्थीहरूको सफलता हाम्रो साझा प्रयासको परिणाम हो। हामी शिक्षक, अभिभावक र सम्पूर्ण टिमलाई यो उपलब्धिको श्रेय दिन चाहन्छौं।”
त्यसैगरी प्रधानाध्यापक मनोज सिंह साउद ले भने, “समयमै पाठ्यक्रम सम्पन्न गर्नु, अभ्यासमूलक शिक्षण, अभिभावकसँग समन्वय र नियमित मूल्यांकनको नीति नै विद्यालयको बलियो पक्ष हो। यो नतिजाले हाम्रो प्रतिबद्धता पुष्टि गरेको छ।”
विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्टता हासिल गर्ने दृढता व्यक्त गरेको छ।
![]()