कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोज क्षेत्रमा चितुवा देखिएको दाबी गरिएको छ। स्थानीयवासी हिरालाल थापाले बुधबार राति चितुवा देखेर भिडियोसमेत खिचेका थिए, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसले स्थानीयमा त्रास फैलाएको छ।
चितुवा देखिएको सूचना पाएलगत्तै बिहीबार बिहान सुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली खोरसहित तीनवटा हात्ती लिएर उक्त क्षेत्रमा पुगेको थियो। खोजीमा ड्रोनसमेत प्रयोग गरिएको भए पनि चितुवाको पत्ता लागेन। त्यसपछि टोली फर्किएको छ।
निकुञ्जका अनुसार बिहीबार चितुवाको उपस्थितिको यकिन प्रमाण फेला नपरे पनि स्थानीयको दाबीलाई हल्का रूपमा नलिई थप अनुगमन र निगरानी गरिनेछ।
घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। निकुञ्जले सतर्क रहन र बालबालिकालाई एक्लै बाहिर नपठाउन आग्रह गरेको छ।
![]()