Clickable Banner Ad

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका घनश्याम रावतका लागि देश–विदेशबाट सहयोग, १ लाख २५ हजार हस्तान्तरण

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१० रावत टोलका घनश्याम रावत भारतको गुजरातमा रोजगारीका क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेपछि हाल भारतको बरेलीस्थित अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सकले टाउकोको शल्यक्रिया सम्पन्न गरिसकेका भए पनि अवस्था अझै जटिल रहेको परिवारले जनाएको छ।
घनश्यामको उपचारमा प्रारम्भदेखि नै ठूलो रकम खर्च भइसकेको र थप उपचारका लागि अझै धेरै आर्थिक स्रोत आवश्यक परेपछि परिवार आर्थिक संकटमा परेको थियो। यही अवस्थालाई मध्यनजर गर्दै दोधारा चाँदनी खबरका सञ्चालक भूपेन्द्र ओलीले सामाजिक सञ्जालमार्फत ‘घनश्याम बचाउ अभियान’ सुरु गरेका थिए।
अभियानबारे बोल्दै भूपेन्द्र ओलीले भने, “घनश्यामको अवस्था अत्यन्त गम्भीर छ। उपचार खर्च परिवारले धान्न नसक्ने भएपछि मानवीय दायित्वका रूपमा अभियान सुरु गरिएको हो। छोटो समयमै देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र शुभेच्छुकहरूले खुलेर सहयोग गर्नुभयो, जसका लागि म सबैप्रति आभारी छु।”
उनले संकलित रकमले उपचारमा केही राहत पुगे पनि उपचार प्रक्रिया अझै लामो र खर्चिलो रहेकाले सहयोग निरन्तर आवश्यक रहेको बताए। “घनश्यामको जीवन रक्षा नै अहिलेको मुख्य उद्देश्य हो, त्यसका लागि सबैको साथ अझै आवश्यक छ,” ओलीले थपे।
आज आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डे तथा दोधारा चाँदनी नगरपालिका वडा नं १० का वडाध्यक्ष चन्द्रबहादुर सिंह लगायतको टोली घनश्याम रावतको घरमै पुगेर अभियानबाट संकलित १ लाख २५ हजार रुपैयाँ उनकी आमा धर्मा रावतलाई हस्तान्तरण गरिएको छ।
रकम ग्रहण गर्दै घनश्यामकी आमा धर्मा रावत भावुक हुँदै भनिन्, “मेरो घरमा कमाउने एउटै छोरा थियो। उसको उपचार गर्दागर्दै घर–जग्गा, गाई–बाख्रा, सुनचाँदी सबै बेचिसक्यौं। अन्तिम उपायका रूपमा सहयोगको अपिल गरेकी थिएँ। सबैले सहयोग गर्नुभयो, त्यसका लागि म अत्यन्त आभारी छु।”
घनश्याम रावतको उपचार अझै जारी रहेकाले थप आर्थिक सहयोग आवश्यक रहेको परिवार तथा अभियानकर्ताहरूले बताएका छन्।

Advertisement

Loading

Advertisement
Advertisement