Clickable Banner Ad

दोधारा चाँदनीको अस्तित्व जोगाऔँ : अब ढिलाइ होइन, निर्णायक पहल गरौँ

✍️ चन्द्र प्रकाश खत्री (सी.पी.),जापान

वि.सं. २०५० साल (सन् १९९४) मा जापान सरकारको सहयोगमा Japan International Cooperation Agency (JICA) मार्फत दोधारा–चाँदनी क्षेत्रमा महाकाली नदीको कटान र डुबानबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिएको थियो। त्यो तटबन्धले एक समय हजारौँ नागरिकलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको थियो।

Advertisement

तर आज, तीन दशक बितिसक्दा उक्त तटबन्ध अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ। मर्मत, सुदृढीकरण र दीर्घकालीन व्यवस्थापनको अभावमा प्रत्येक वर्ष दोधारा–चाँदनी बस्ती डुबानको उच्च जोखिममा पर्दै आएको छ। बाढी आउँदा जनधनको क्षति मात्र होइन, नागरिकको जीवन, रोजगारी र भविष्य नै संकटमा पर्ने अवस्था दोहोरिइरहेको छ।

यो समस्या कुनै एक वडाको वा मौसमी समस्या मात्र होइन, दोधारा चाँदनी बस्तीको अस्तित्वसँग जोडिएको गम्भीर संकट हो। त्यसैले यसको समाधान अस्थायी टालटुलमा सीमित हुनु हुँदैन।

यस सन्दर्भमा पहिलो प्राथमिकताका रूपमा पुनः JICA जस्ता अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी तटबन्धको पुनर्निर्माण तथा सुदृढीकरणका लागि पहल गरिनुपर्दछ। यदि त्यो सम्भव नभएमा नेपाल सरकारको गुरुयोजनाभित्र समेटी संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट जिम्मेवारी बाँडफाँटसहित दीर्घकालीन समाधान खोजिनु अनिवार्य छ।

महाकाली र जोगुडा नदीका कारण बस्ती नै जोखिममा पर्दा पनि सरोकारवाला निकायहरू अपेक्षित रूपमा गम्भीर नदेखिएको अवस्था चिन्ताजनक छ। अब यस विषयमा मौन बस्नु भनेको भविष्यमा अझ ठूलो विपत्ति निम्त्याउनु सरह हुनेछ।

त्यसैले यो अपिल केवल सरकार वा निकायहरूसँग मात्र सीमित नराखी सम्पूर्ण दोधारा–चाँदनी नगरवासीले यसलाई प्रमुख एजेन्डा का रूपमा उठाउन आवश्यक छ। नागरिक समाज, जनप्रतिनिधि, सञ्चारमाध्यम, राजनीतिक दल र सचेत नागरिक सबैले आ–आफ्नो स्थानबाट एकजुट भई निरन्तर खबरदारी गर्नु आजको आवश्यकता हो।

दोधारा चाँदनी बचाउनु भनेको केवल एउटा भूगोल जोगाउनु होइन, यहाँका हजारौँ नागरिकको जीवन, पहिचान र भविष्य जोगाउनु हो। अब ढिलाइ होइन निर्णायक पहल गरौँ।

Loading

Advertisement
Advertisement