दोधारा चाँदनी, भाद्र ५ – भुमि समस्या समाधान आयोग कंचनपुरको प्राविधिक टोलीले बिहीबार दोधारा चाँदनी नगरपालिकामा भुमिसम्बन्धी कार्यको निरीक्षण गरेको छ। करिब तीन महिना अगाडि सुरु भएको नापजाँच तथा पुर्जा वितरण कार्यको प्रगति र गुणस्तर मूल्याङ्कन गर्न टोली यहाँ पुगेको हो।
निरीक्षण टोलीमा आयोग कंचनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त, कञ्चनपुर नापी कार्यालयका निमित्त प्रमुख दिजै राज भट्ट र आयोगका विज्ञ सदस्य दिल बहादुर सीजाली सहभागी थिए। उनीहरूले सम्पन्न कार्यको मूल्याङ्कन गर्दै आगामी योजनाबारे स्थानीय तहसँग छलफल गरेका छन्।
नापी निमित्त प्रमुख भट्टका अनुसार आयोगले तीन वर्षे कार्यविधिअन्तर्गत सबै लाभग्राहीलाई रातो पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ। आयोग अध्यक्ष पन्तले दशैं अघि नै १,००० पुर्जा वितरण गर्ने योजना रहेको बताए। हालसम्म कञ्चनपुर जिल्लामा ७२,९३० निवेदन दर्ता भइसकेको छ र वार्षिक १५ देखि २० हजार पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
विज्ञ सदस्य सीजालीका अनुसार दोधारा चाँदनी नगरपालिकाका वडा नं. १, २, ३, ५, ८ र ९ मा नापजाँच सकिएको छ भने वडा नं. ४, ६, ७ र १० मा चाँडै काम सुरु गरिनेछ। वडा नं. ३ बाट २३, वडा नं. ५ बाट ४८, वडा नं. ८ मा ३२२ र वडा नं. ९ मा ४२ फाइलको चेकजाँच सम्पन्न भइसकेको छ।
नगर प्रमुख किशोर कुमार लिम्बुले खोला–नाला किनारको अतिक्रमणमा आयोगले गम्भीर ध्यान दिनुपर्ने सुझाव दिएका छन्। “गहिरो अध्ययनसहित विवादरहित तरिकाले नापजाँच गर्नु आवश्यक छ,” उनले भने।
सरकारद्वारा गठन गरिएको भुमि समस्या समाधान आयोगले देशभर दशकौँदेखि बाँकी रहेका भुमिसम्बन्धी समस्या समाधानका लागि पुर्जा वितरण, नापजाँच र अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिँदै आएको छ।
![]()