दोधारा चाँदनी- पुस १९ नजिकिँदै गर्दा कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचन केवल औपचारिक प्रक्रिया मात्रै रहेन, यो व्यवसायिक नेतृत्वको पुस्तान्तरणको संकेतसमेत बन्दै गएको छ। यही सन्दर्भमा दोधारा चाँदनीबाट एकल प्रतिनिधित्व गर्दै युवा व्यवसायी गोविन्द भट्ट सदस्य पदका लागि चुनावी मैदानमा उभिएका छन्।
स्थानीय बजारको नाडी नजिकबाट बुझ्ने युवा उद्यमीका रूपमा परिचित भट्टको उम्मेदवारीलाई ‘परिवर्तनको संकेत’का रूपमा हेरिन थालिएको छ। व्यवसायीहरूको दैनिक समस्या, बजार व्यवस्थापनको कमजोरी र संघभित्रको सुस्तता यिनै विषयलाई एजेण्डा बनाएर उनी चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
१३ जनाको भिडबाट ७ जना छानिने यो निर्वाचनमा भट्टलाई केवल उम्मेदवार मात्र होइन, सम्भावनाको प्रतीकका रूपमा हेरिएको छ। विशेषगरी नयाँ पुस्ताका व्यवसायीहरू उनीतर्फ आकर्षित देखिन्छन्। भट्ट भन्छन्,
“आज व्यवसायिक चुनौतीहरू बदलिँदै छन्। तिनको समाधान पनि नयाँ सोच र ऊर्जाबाट मात्रै सम्भव हुन्छ। संघ सबै व्यवसायीको साझा मञ्च बन्नुपर्छ भन्ने मेरो विश्वास हो।”
यसपटक संघका अधिकांश पदाधिकारी सर्वसम्मत चयन भइसकेका छन्। तर कोषाध्यक्ष र सदस्य पदका लागि हुने मतदानले निर्वाचनलाई थप चासोको केन्द्र बनाएको छ। कोषाध्यक्षमा प्रदीप पाल र सिद्धराज भट्टबीचको प्रतिस्पर्धा जति कडा छ, सदस्य पदमा पनि प्रतिस्पर्धा त्यतिकै रोचक बनेको छ।
सदस्य पदका लागि गोविन्द भट्टसँगै लोकराज भट्टदेखि सरिता भण्डारीसम्म १३ जना उम्मेदवार चुनावी दौडमा छन्। ७ जनालाई मात्र छनोट गर्नुपर्ने भएकाले व्यवसायी मतदाताले यसपटक ‘नाम होइन, दृष्टिकोण’ रोज्ने अपेक्षा गरिएको छ।
आफ्नो सक्रियता, स्पष्ट धारणा र योजनाका कारण गोविन्द भट्ट आफू निर्वाचित हुनेमा ढुक्क छन्। तर उनको दाबीभन्दा महत्वपूर्ण कुरा के हो भने यो निर्वाचनले कञ्चनपुरको व्यवसायिक नेतृत्व कुन दिशातर्फ जाने भन्ने निर्णय गर्नेछ।
![]()