Clickable Banner Ad

उद्योग वाणिज्य संघ निर्वाचनमा समावेशी नेतृत्वको प्रतीक बन्दै सरिता भण्डारी

दोधारा चाँदनी । महेन्द्रनगरको बजार यतिबेला किनमेलभन्दा बढी चुनावी गफले व्यस्त छ। पुस १९ गते हुने कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी निर्वाचन नजिकिँदै जाँदा व्यापारिक वृत्तमा बहस, अनुमान र आकांक्षा एकसाथ उफ्रिरहेका छन्। यही माहोलको बीचमा एउटा नाम अलग्गै सुनिन थालेको छ सरिता भण्डारी

Advertisement

१३ जनाको प्रतिस्पर्धामा उनी एक्लो महिला उम्मेदवार हुन्। सुरुमा दुई महिलाले सदस्य पदमा दाबी गरे पनि पार्वती कुमारी विष्ट मैदानबाट बाहिरिएपछि अब संघभित्र महिला आवाजको जिम्मेवारी भण्डारीकै काँधमा आएको छ। यो चुनौती मात्र होइन, महिला व्यवसायीका लागि अवसर पनि हो।

महेन्द्रनगरको मदनचोकमा रहेको ‘डालिमा सपिङ’ उनको पहिचान मात्रै होइन, दुई दशकजति लामो व्यावसायिक यात्राको साक्षी पनि हो। २०६५ सालदेखि व्यवसायमा सक्रिय भण्डारीले बजारका उतारचढाव नजिकबाट देखेकी छन्, तर संघको नेतृत्व तहमा महिलाको उपस्थिति सधैं कमजोर देखिनु उनलाई चित्त बुझ्दो लागेन।

“मतदाता भएर मात्रै बस्दा महिलाको मुद्दा माथि पुग्दैन,” यही बुझाइले उनलाई यसपटक चुनावी मैदानमा उभ्याएको छ। बजारमा महिला व्यवसायीको संख्या ठूलो भए पनि निर्णय गर्ने ठाउँमा उनीहरूको उपस्थिति न्यून हुनु अन्यायपूर्ण भएको उनी बताउँछिन्।

७ सदस्य निर्वाचित हुने यस चुनावमा भण्डारीले समावेशी नेतृत्व, व्यवसायीको हकहित संरक्षण र महिला व्यवसायीहरूलाई संगठित गर्ने एजेण्डालाई केन्द्रमा राखेकी छन्। संघ बलियो भए मात्रै व्यवसाय सुरक्षित हुन्छ भन्ने उनको धारणा छ।

संघका अधिकांश पदहरू सर्वसम्मत टुंगिएको अवस्थामा कोषाध्यक्ष र सदस्य पदमा मात्रै प्रतिस्पर्धा हुँदैछ। कोषाध्यक्षमा प्रदीप पाल र सिद्धराज भट्ट आमनेसामने छन् भने सदस्य पदका लागि भण्डारीसहित १३ जनाबीच प्रतिस्पर्धा चलिरहेको छ।

यो चुनाव केवल पदका लागि मात्रै होइन, संघको सोच र स्वरूप कस्तो हुने भन्ने प्रश्नसँग पनि जोडिएको छ। यही कारण सरिता भण्डारीको उम्मेदवारीलाई धेरैले कञ्चनपुरको व्यावसायिक राजनीतिमा नयाँ संकेतका रूपमा हेरेका छन्।

Loading

Advertisement
Advertisement