दोधारा चाँदनी, बैशाख १२
दोधारा चाँदनी नगरपालिका अन्तर्गतका अधिकांश बस्तीहरूमा साँघुरो सडक र निचो भएर झुकेका विद्युत् तारका कारण आपतकालीन सेवामा गम्भीर असर परेको छ। हालै वार्ड नं ७ मा भएको आगलागीको घटनामा दमकल समयमा घटनास्थलमा पुग्न नसक्दा आगो नियन्त्रणमा ढिलाइ भएको स्थानीयवासीहरूले बताएका छन्।
घटनास्थलमा पुग्न खोज्दा दमकल बीच बाटोमै रोकिएको थियो। बाटो साँघुरो हुनुका साथै बिजुलीका तारहरू निकै नजिक भएर सडकतर्फ झुकेको हुँदा ठूला सवारी साधन सहजै आवागमन गर्न सकेनन्। दमकल चालकका अनुसार, तारमा ठोक्किने डरले सवारी रोक्नु परेको थियो।


“अगाडि झुकेका तारहरूले दमकललाई रोक्न बाध्य बनायो। बाटो पनि दुई सवारी पास हुन नसक्ने खालको छ,” दमकलमा सवार एक कर्मचारीले भने, “यदि आगो अझै फैलिएको भए ठूलो क्षति हुन सक्थ्यो।”
स्थानीय समाजसेवी बिकास पौडेलका अनुसार, दोधारा चाँदनीका अधिकांश आगलागी घटनामा दमकल समयमै पुग्न नसक्नुको मुख्य कारण नै पूर्वाधारको कमजोरी हो। “सडक साँघुरो छ, तार लत्रिएका छन्, यस्ता अवस्थामा गाडी अघि बढाउन जोखिम हुन्छ,” पौडेलले बताए।
