दोधारा-दोधारा चाँदनी नगरपालिका–२ को आयोजनामा सुदूरपश्चिमेली मौलिक संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण, प्रवर्द्धन तथा जगेर्ना गर्ने उद्देश्यले शुक्रबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. २ को सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्ष पदम सिंह रावलको अध्यक्षता, नगर प्रमुख किशोर कुमार लिम्बको प्रमुख आतिथ्य, नगर उपप्रमुख गंगा देवी जोशी र सुदूरपश्चिमेली सांस्कृतिक सर्जक कलसा देवी महराको विशेष आतिथ्य रहेको थियो।
वडा अध्यक्ष पदम सिंह रावलले मौलिक संस्कृति हाम्रो पहिचान भएकोले यसको संरक्षण सबैको जिम्मेवारी भएको बताए। “पुस्तान्तरण मार्फत संस्कृतिलाई जोगाउन वडाले निरन्तर पहल गर्छ,” उनले भने।
नगर प्रमुख किशोर कुमार लिम्बले स्थानीय तहको सक्रियता बिना संस्कृति संरक्षण सम्भव नहुने उल्लेख गर्दै युवा पुस्तालाई संस्कृतिसँग जोड्ने कार्यलाई प्राथमिकतामा राख्ने बताए।
नगर उपप्रमुख गंगा देवी जोशीले सांस्कृतिक सम्पदाको अभिलेखीकरण र प्रचार–प्रसारका कार्यक्रमलाई आगामी वर्षको योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा तीज, गौरा, विवाह, ब्रतबन्ध जस्ता अवसरमा गाइने फाग, झोडो र सगूनजस्ता मौलिक विधाहरूको महत्व, संरक्षणका चुनौती र समाधानबारे छलफल भएको थियो। सहभागीहरूले सांस्कृतिक कार्यक्रममार्फत स्थानीय तहले थप पहल गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा वडाबासी, स्थानीय अगुवा, सांस्कृतिक अभियन्ता तथा समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
![]()