कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा र महाकाली नदीमा तटबन्ध निर्माण गरिने भएको छ। बाढीले गर्ने कटान रोक्न जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले तटबन्ध निर्माणको प्रक्रिया अघि बढाएको हो।
यस वर्ष करिब ६ सय मिटर तटबन्ध निर्माण गरिनेछ। जोशी बिल्डर्स कम्पनीका प्रबन्धक गणेश जोशीका अनुसार तटबन्ध निर्माण नदीको किनारमा जोगबूढा हुँदै महाकाली नदीसम्म पुग्ने गरी गरिँदै छ।


तटबन्ध निर्माणका लागि रु ५ करोड १६ लाख ६६ हजार को बजेट विनियोजन गरिएको छ।
स्थानीय बासिन्दाले तटबन्ध निर्माणलाई स्वागत गरेका छन्। “बर्सेनि बाढी र कटानको मारमा परेका किसानलाई तटबन्धले सुरक्षा दिने विश्वास छ,” दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख गंगादेवी जोशीले भनिन्।
कुतियाकबर बस्ती महाकाली र जोगबूढा नदीले घेरिएको क्षेत्र हो। बर्सेनि बाढी र कटानको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई तटबन्ध निर्माणले विस्थापनको डर कम गर्ने विश्वास गरिएको छ।
