रनि विवश/रविन्द्रराज ओझा
महेन्द्रनगर । शुक्रबार विहान बैजनाथ माध्यमिक विद्यालयको विद्यार्थीहरुको प्रार्थना सभा । घडीमा ७ः३० बज्दा गर्दा ड्रमको डयाम डयाम आवाज बज्यो । त्यहीं आवाजसंगै विद्यार्थीहरुको पिटि । राष्ट्रिय गान बज्यो । त्यसपछि एक मिनेट मौन धारण गरियो । अनि प्रार्थना सभामा आशन ग्रहण थालियो । विद्यालयका शिक्षक ओम प्रकाश जोशीले कार्यक्रम सञ्चालन गरी आशन ग्रहण गराए ।
ratnam malkhad
विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज जोशीले अध्यक्षता गरे । विद्यालय व्यवस्थापन समितिका स्वर्गिय पूर्व अध्यक्ष अच्युतराज कलौनीका बुवा जनकराज कलौनी प्रमुख अतिथि बने । स्वर्गिय कलौनीकी धर्मपत्नि कमला पन्तले विशिष्ठ अतिथिको आशन ग्रहण गरिन् । त्यसपछि आयोजकले विद्यालयका शिक्षक निर्मला जोशीलाई स्वागत मन्तव्य राख्न आग्रह गरे । उनी स्वागत मन्तव्य राख्न थालिन् । जोशीले स्वागत मन्तव्य राख्दै गर्दा कार्यक्रमका विशिष्ठ अतिथि पन्तको आँखाबाट आँशु खस्न थाल्यो । चुन्नीले आँखा छोपेर उनले आँशु लुकाईन । उनीसंगै बसेकी शिक्षक परमवेश्वरी खत्रीको आँखाबाट पनि आँशु खस्यो । कार्यक्रमका अतिथि र विद्यार्थी सबै भाुवक देखिए । जोशीले आफू धेरै बोल्न नसक्ने भन्दै आफ्नो मन्तव्य टुङ्ग्याइन् ।
बैजनाथ मावि व्यवस्थापन समितिका स्वर्गिय अध्यक्ष कलौनीको स्मृतिमा विद्यालयमा स्थापना गर्न लागिएको अच्युत कलौनी स्मृति अक्षय कोषका लागि चेक हस्तान्तरण कार्यक्रममा शुक्रबार अन्य दिनको प्रार्थना सभा भन्दा फरक दृष्य देखिएको हो ।
नेपाल विद्यार्थी संघले कलौनीको सम्झनामा केही महिना अघि दुई लाखको अक्षय कोष बनाउने घोषणा गरी उनका बुवालाई काठमाडौं बोलाएर चेक हस्तान्तरण गरेको थियो ।
कलौनी परिवारले शुक्रबार विद्यालयको प्रार्थना सभामा अक्षय कोषका लागि चेक हस्तान्तरण गरेका हुन् । स्वीर्गय कलौनीका बुवा र उनकी धर्मपत्नि कमला पन्तले कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जोशीलाई चेक हस्तान्तरण गरे ।
प्रधानाध्यापक जोशीलाई चेक हस्तान्तरण अघि कलौनीले छोटो मन्तव्य राखे । कार्यक्रममा सम्बोधन गरेपछि उनको आँखाबाट आँशु खस्न थाल्यो । त्यसपछि कलौनीले चेक हस्तान्तरण गर्ने भन्दै आफ्नो मन्तव्य टुङ्ग्याए ।
विद्यालयका प्रधानाध्यापक जोशीले नेपाल विद्यार्थी संघले गरीब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि कलौनीको स्मृतिमा अक्षय कोष स्थापना गरेको बताए ।
कलौनी नेपाल विद्यार्थी संघका पूर्व सह महामन्त्री हुन् । चार वर्ष अघि बैजनाथको अध्यक्ष भएका उनी गत वर्ष माघमा भीमदत्त नगरपालिका १८ मामाभान्जा चोकमा रहस्यमत रुपमा मृत भेटिएका थिए ।
कलौनीको रहस्यमय मृत्युको कारण अझै बाहिर आउन सकेको छैन । कलौनी परिवारले उनको हत्या गरिएको आशंका गर्दै आएका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जोशीले कलौनीको निधन विद्यालयको गत शैक्षिक सत्रका लागि निकै पीडादायी भएको बताए ।
‘२०८१ को शैक्षिक सश एकदैम पीडाको घडी रह्यो, विद्यालयले अलिकति गति लिन्छ कि भनेर सोचेका थियौ, गति लिइ रहेको थियो, र हामीलाई उर्जा दिने व्यक्तित्व जसले हामीलाई गति दिइ रहेको थियो, हौसला दिइ रहेको थियो, वहाँ नै रहनु भएन । हामीले असमायिक दुर्घटना झेल्नु प¥यो’ उनले भने,‘ यस समुदायका लागि समाजका लागि केही गर्छौ र गरीब, जेहेन्दार, निमुखा वर्गहरु जसको स्रोत साधनमा पहुँच छैन, तिनका छोरा छोरीले पनि पढ्नु पाउनु पर्छ, गुणस्तरीय शिक्षा पाउनु पर्छ, भन्ने उद्देश्यका साथ आशयका साथ एउटा जुझारु युवा लगभग तीन वर्ष पहिलो यो विद्यालयमा प्रवेश गर्नु भएको थियो ।’
व्यवस्थापन समिति अध्यक्ष भएपछि उनले रात दिन सक्रिय रुपमा लागेर विद्यालयको कायापलट पारेको प्रधानाध्यापक जोशीले बताए ।
‘अहोरात्र खटेर रात नभनेर दिन नभनेर धेरै मिहिनेत गर्नु भयो र यो संस्थाको एक किसिमले कायापलट गरेर जानु भयो’ उनले भने,‘यो संस्थाले दशौं वर्षमा समेत हासिल नगरेका उपलिब्धहरु तीन वर्षमै पूरा गरेर जानु भयो ।’
विद्यालयको प्रगति गर्ने सपना बोकेर आएका उनी पूरा गरेपछि जस लिन नपाएर सधैका लागि आफूहरुलाई छाडेर गएको उनले बताए ।
‘ एउटा सपनाका साथ आउनु भएको थियो, त्यो सपनालाई पूरा गर्ने बाटो देखाएर जानु भयो । तर त्यसको जस लिनु पाउने अवस्था नआउँदै हामी माझबाट विलाएर जानु भयो,’ उनले भने ।
प्रधानाध्यापक जोशीले कलौनी विद्यालयलाई देशकै नमूना बनाउने प्रण लिएर आएको र त्यस अनुसार काम गरेको उल्लेख गर्दैै उनको सपना साकार पार्न विद्यालय सधैैं लागि पर्नेमा जोड दिए ।
‘देशकै नमूना विद्यालय बनाउने प्रण थियो त्यस अनुसार काम गरि रहेको थियो, त्यस अनुसार काम पनि गरियो’ उनले भने,‘अब विद्यार्थी भाई बहिनीले राम्रोसंग पढेर, राष्ट्र र समाजका लागि केही गरेर देखाएर वहाँको सपना पूरा हुन्छ ।’
कलौनीले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासमा योगदान दिएका छन् । कलौनीका पालमा विद्यालयले अंग्रेजी माध्यमका कक्षाहरु सञ्चालन गरिएका हुन् । ४६ सटर निर्माण र ६ कोठा भवन निर्माण लगायत कार्य कलौनीको पालामा गरिएका हुन् ।
विद्यालयमा विद्यार्थी संख्या घटेपछि अंग्रेजी माध्यमका कक्षा कलौनी सञ्चालन गरेका थिए । उनी अध्यक्ष भएपछि बैजनाथमा विद्यार्थी संघ चार गुणा बढी वृद्धि भएको थियो ।
यस शैक्षिक सत्रमा झण्डै डेढ हजार विद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्रधानाध्यापक जोशीले अध्यक्ष कलौनीको कार्य विद्यालले सर्धंै सम्झि रहने बताए । ‘यो अतुलनीय कार्य कहिल्यै भुल्न सकिदैँन’ उनले भने ।
नेपाल विद्यार्थी संघले स्थापना गरेको अक्षय कोषमा विद्यालयले पनि सहयोग गर्ने प्रधानाध्यापक जोशीले बताए । बैजनाथ कञ्चनपुरको सबैभन्दा पूरानो विद्यालय हो ।
साभार:विकल्प दैनिक
![]()