Clickable Banner Ad

विद्युत् महसुलमै लापरबाही : दोधारा चाँदनी नगरपालिकाले तिर्‍यो ५० हजार बढी जरिबाना

दोधारा चाँदनी। दोधारा चाँदनी नगरपालिकाले विद्युत् महसुल समयमै भुक्तानी नगर्दा ५० हजार रुपैयाँभन्दा बढी जरिबाना तिर्नुपरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले नियमविपरीत अतिरिक्त रकम खर्च गरेको उल्लेख गरिएको छ।

Advertisement

प्रतिवेदनअनुसार नगरपालिकाले २०८१ सालमा दुई पटक गरी करिब ६ लाख रुपैयाँ विद्युत् महसुल भुक्तानी गरेको थियो। तर समयमै महसुल नबुझाउँदा ५० हजार १३९ रुपैयाँ जरिबानास्वरूप अतिरिक्त रकम तिर्नुपरेको देखिएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले सार्वजनिक निकायलाई समयमै भुक्तानी गरी अनावश्यक आर्थिक भारबाट बच्न निर्देशन दिएको भए पनि नगरपालिकाले सो व्यवस्था पालना गर्न नसकेको महालेखाको निष्कर्ष छ। प्रतिवेदनमा उक्त भुक्तानीलाई नियमसम्मत नदेखिएको उल्लेख गर्दै वित्तीय अनुशासनमा कमजोरी देखिएको औँल्याइएको छ।

स्थानीय तहले समयमै महसुल भुक्तानी गरी छुट सुविधा लिनुपर्नेमा उल्टै जरिबाना तिर्नुपरेको अवस्थाले सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापनमाथि प्रश्न उठाएको छ। नगरपालिकाले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

Loading

Advertisement
Advertisement