Clickable Banner Ad

महाकाली नदीमा गाइडबन्ड र च्यानलाइजेसनको काम तीव्र: नेपाली सेनाका सयौँ जवान खटिए

गृहमन्त्री रमेश लेखकको पहलमा संकटग्रस्त महाकाली पुल क्षेत्र

Advertisement

कञ्चनपुर, असार ०१ – महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुलमा अहिले तीव्र निर्माण कार्य भइरहेको छ। दर्जनौँ एक्स्काभेटर, टिपर र सयौँ नेपाली सेनाका जवानहरू दिनरात काममा खटिएका छन्। पुलको उत्तर–पूर्वतर्फ भत्किएको गाइडबन्ड पुनर्निर्माण र नदीलाई बीच भागमा बगाउने च्यानलाइजेसनको काम निरन्तर चलिरहेको छ।

गएको वर्षको बाढीले भत्काएको भीमदत्त नगरपालिका–१३ ऐरिघाट तर्फको गाइडबन्ड पुनर्निर्माणको जिम्मा हाल नेपाली सेनाले लिएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ६ गते सो क्षेत्रलाई संकटग्रस्त घोषणा गरी नेपाली सेनामार्फत काम थालिएको हो।

नेपाली सेनाको इन्जिनियर विभागका प्रमुख सेनानी इन्जिनियर निशान्त पण्डितका अनुसार, “गाइडबन्डको भरानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। अब जिओ ब्यागमा ढुंगा राखेर तारजालीको माध्यमबाट कटान रोकथामको काम गरिँदैछ। दश दिनभित्र उक्त कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छौँ।”

काममा प्राकृतिक चुनौती पनि छन्। नदीमा बेला बेलामा जलस्तर बढ्दा, शारदा ब्यारेजको ढोका अचानक खोलिँदा समस्या हुने गरेको पण्डित बताउँछन्। तर पनि सेनाले बिहान ६ बजेदेखि राति ९/१० बजेसम्म नदी किनारमै बत्तीको व्यवस्था गरेर कामलाई निरन्तरता दिइरहेको छ।

च्यानलाइजेसनको काम पनि धमाधम भइरहेको छ। पण्डितका अनुसार, “२ सय मिटर चौडाइ र २६ सय मिटर लम्बाइको क्षेत्रमा च्यानल बनाउनुपर्नेछ। हालसम्म ५० मिटर चौडाइ र १७ सय मिटर लम्बाइमा काम सम्पन्न भइसकेको छ।” अहिले करिब १३० भन्दा बढी एक्स्काभेटर र टिपर, ६ सय बढी सेनाका जवान परिचालित छन्।

सुरुमा उक्त गाइडबन्ड ठूलो ढुंगाले निर्माण गर्ने योजना भए पनि उपलब्धता नहुँदा डिजाइन परिवर्तन गरी तारजाली र कंक्रिटको माध्यमबाट बनाउने निर्णय गरिएको थियो। यद्यपि भेरिएसन स्वीकृत नभएको कारण एक वर्षसम्म मर्मतको काम अघि बढ्न सकेको थिएन।

शनिबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको टोलीले निरीक्षण गरेको थियो। “सेनाले तीव्र गतिमा काम गरिरहेको छ र लक्ष्य अनुसारको प्रगति भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले भने, “हामीले पटक–पटक सरकारलाई झकझकाएपछि मात्र यो सम्भव भयो। बाढीपीडितका लागि यो एक राहत हो। यस कार्यमा विशेष पहल गर्नुभएका गृहमन्त्री रमेश लेखकज्यूलाई धन्यवाद दिन चाहन्छौँ। अब हामी ढुक्क छौँ, संकटको अन्तिम उपाय नेपाली सेना नै रहेछ भन्ने पुष्टि भयो।”

महाकाली पुल क्षेत्रको पुनर्निर्माण कार्य असार मसान्तसम्म पनि चलिरहने छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना सतर्क रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement