दोधारा चाँदनी । मिति २०८२ मंसिर २७ गते दोधारा चाँदनी-२ निवासी कृष्ण प्रसाद जोशीले आफ्ना स्वर्गीय बुवा लक्ष्मी दत्त जोशीको स्मृतिमा समाजका लागि उदाहरणीय कार्य गर्नुभएको छ। जोशीले आफूले भोगचलन गर्दै आएको २ कट्टा जग्गा बजार निर्माण गर्ने उद्देश्यसहित चाँदनी बजार समितिलाई स्वेच्छिक रूपमा दान गर्नुभएको हो।
दानपछि प्रतिक्रिया दिँदै कृष्ण प्रसाद जोशीले भन्नुभयो, “मेरो बुवाले जीवनभर समाज र छरछिमेकको हितलाई प्राथमिकतामा राख्न सिकाउनुभयो। उहाँको सम्झनामा केही स्थायी र उपयोगी काम गर्न पाउनु मेरो लागि गर्वको विषय हो। यो जग्गा बजार निर्माणमा प्रयोग भई स्थानीयको रोजगारी र आर्थिक गतिविधि बढोस् भन्ने मेरो चाहना हो।”
उहाँले व्यक्तिगत सम्पत्तिभन्दा सामूहिक हित ठूलो हुने विश्वास व्यक्त गर्दै, समाजका अन्य सक्षम व्यक्तिहरूलाई पनि सार्वजनिक हितका कार्यमा हातेमालो गर्न आग्रह गर्नुभयो।
चाँदनी बजार समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीले जोशीको यस कदमलाई अत्यन्तै प्रेरणादायी बताउँदै, “यस्ता सकारात्मक सोच र निस्वार्थ सहयोगकै कारण चाँदनी बजारको दिगो विकास सम्भव हुन्छ। यस कार्यलाई मूर्त रूप दिन यहाँसम्म सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरूप्रति चाँदनी बजार समितिको तर्फबाट हृदयदेखि नमन गर्दछु,” भन्नुभयो।
स्थानीयवासीहरूले पिताको स्मृतिलाई समाजसेवामा रूपान्तरण गर्ने कृष्ण प्रसाद जोशीको योगदानलाई उच्च सम्मानका साथ लिँदै, यो कार्य चाँदनी बजारको भविष्य निर्माणतर्फ महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेका छन्।
![]()