कञ्चनपुर, भाद्र १४ – भारतसँगको सीमा क्षेत्रमा बर्डफ्लु (H5N1) संक्रमणको जोखिम बढेसँगै दोधारा चाँदनी नगरपालिकामा वर्डफ्लु रोग नियन्त्रण तथा प्रतिबन्ध सम्बन्धी एकदिने विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नगर प्रमुख किशोर कुमार लिम्बु, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि तथा कुखुरा व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बल कञ्चनपुर प्रमुख एसपी लोकेन्द्र देव भट्टले भारत–नेपाल सीमाबाट चोरी पैठारी हुने बोइलर कुखुरासम्बन्धी अवैध कारोबारमा संलग्नहरूलाई कडा कारबाही गरिने चेतावनी दिए।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी ढकालले खुला सीमामा कडाइ र उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिँदै कुखुरा व्यवसायीहरूलाई सचेत रहन आग्रह गरे।
कार्यक्रममा रोगको लक्षण, संक्रमणको माध्यम, रोकथामका उपाय र नियन्त्रण रणनीतिबारे प्राविधिक जानकारी प्रस्तुत गरिएको थियो। सहभागीहरूले सीमामा निगरानी अझ कडा पार्नुपर्नेमा जोड दिएका थिए।
![]()