Clickable Banner Ad

दोधारा चाँदनीमा नगर स्तरीय महिला भलिबल प्रतियोगिता हुने

दोधारा चाँदनी, कार्तिक १२।
दोधारा चाँदनी नगर खेलकुद समितिको आयोजनामा यहि कार्तिक २१ गतेदेखि नगर स्तरीय महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिता दोधारा चाँदनी–६ स्थित श्री भानु माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।

Advertisement

आयोजक समितिका अनुसार प्रतियोगितामा नगर भित्रका सबै वडा, विद्यालय, क्याम्पस तथा क्लबहरू सहभागी हुन सक्ने छन्। प्रत्येक टिममा ९ जना खेलाडी र २ जना अफिसियल रहने व्यवस्था गरिएको छ। सहभागी खेलाडीहरू दोधारा चाँदनी नगरपालिकाका स्थायी बासिन्दा हुनुपर्नेछ।

खेलाडीहरूले स्थायी बसोबास प्रमाणपत्र र उमेर खुल्ने प्रमाण संलग्न गरी आफ्नो टिम दर्ता गर्नुपर्नेछ। प्रतियोगिता लिग–नकआउट प्रणाली अनुसार सञ्चालन गरिनेछ।

प्रतियोगिता कार्तिक २१ गते बिहान ११ बजे औपचारिक रूपमा उद्घाटन गरिनेछ। टिम दर्ता गर्नुपर्ने अन्तिम मिति कार्तिक १९ गते दिउँसो ३ बजेभित्र रहेको छ। दर्ता शुल्क रु. ५०० नगरपालिकाको राजस्व फाँटमा बुझाउनुपर्नेछ।

आयोजक समितिले आकर्षक पुरस्कारको व्यवस्था पनि गरेको छ। प्रतियोगिताको प्रथम टिमले रु. ३१,१०० नगद, कप र प्रमाणपत्र पाउनेछ भने द्वितीय टिमले रु. २१,१०० नगद, कप र प्रमाणपत्र प्राप्त गर्नेछ। विजेता र उपविजेता टिमका खेलाडीहरूलाई जनही एक जोडी ट्र्याकसुट प्रदान गरिनेछ। साथै, प्लेयर अफ द टुर्नामेन्टलाई रु. ३,०००, ट्रफी र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरूलाई जनही रु. १,००० सहित प्रमाणपत्र प्रदान गरिनेछ।

समितिका अनुसार खेल खेल्ने क्रममा चोटपटक वा घाइते भएमा उपचारको जिम्मेवारी स्वयं खेलाडीको हुने व्यवस्था गरिएको छ।

सम्पर्कका लागि उपाध्यक्ष चमन खड्का (९८०६४१२७७४), संयोजक विनोद चौधरी (९८१२७७६३०९) लगायत समितिका सदस्यहरूसँग सम्पर्क गर्न सकिनेछ।

नगर खेलकुद समितिका उपाध्यक्ष खडकाका अनुसार प्रतियोगिताको उद्देश्य नगरका महिलाहरूमा खेलप्रति रुचि, आत्मविश्वास र एकता विकास गर्नु रहेको छ।

Loading

Advertisement
Advertisement