दोधारा चाँदनी । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाका रूपमा ‘तिम्रै लागि’ बोलको गीतको अफिसियल म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ। डेभिड क्षेत्री (डेभिड द ग्रेट) र भगवती रावतको स्वर रहेको उक्त गीतमा स्वामी प्रकाश अघोरी र मन्नु भट्टको अभिनय देख्न सकिन्छ।
भावनात्मक प्रेमकथामा आधारित गीतले समर्पण, विश्वास र सम्बन्धको गहिरो भावलाई संगीत तथा दृश्य संयोजनमार्फत प्रस्तुत गरेको छ। भिडियोमा समावेश गरिएका दृश्य, कथावस्तु र कलाकारको अभिनयले गीतलाई अझ जीवन्त बनाएको छ।
गीतका गायक तथा सर्जक डेभिड क्षेत्री (डेभिड द ग्रेट) दोधारा चाँदनीकै स्थायी बासिन्दा हुन्। उनी विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। गीत सार्वजनिक भएपछि उनले यस गीतको उद्देश्यबारे बताउँदै भने,
“यो गीत केवल संगीतका लागि मात्र होइन, दोधारा चाँदनीका सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गरेर बाहिरी दर्शकहरूमाझ चिनाउने उद्देश्यले पनि तयार गरिएको हो।”
उक्त म्युजिक भिडियोको निर्माण पक्ष Aghori Production ले सम्हालेको हो। भिडियोमा दोधारा चाँदनी क्षेत्रका प्राकृतिक र स्थानीय दृश्यहरू समेटिएकाले गीतले स्थान विशेषको पहिचानसमेत बोकेको देखिन्छ।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब तथा सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाउँदै आएको छ। दर्शक श्रोताले गीतको भाव, अभिनय तथा स्थानीय दृश्यको प्रयोगको खुलेर प्रशंसा गरिरहेका छन्।
स्थानीय कलाकार र स्थानको प्रवर्द्धनमा आधारित यस्ता सिर्जनाले नेपाली गीत–संगीत क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
![]()