Clickable Banner Ad

अविरल वर्षाले दोधारा चाँदनीका १५७ परिवार प्रभावित

दोधारा चाँदनी, १७ भदौ – अविरल वर्षासँगै जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख अमृत बि.क.का अनुसार हालसम्म करिब १५७ परिवार प्रभावित भएका छन्।

Advertisement

नगरपालिका–३ पटरा खल्ला टोलमा नदीको पानी पस्दा २४ परिवारका ५० जना विस्थापित भएका छन्। उनीहरूलाई जमुना आधारभूत विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ।

नगरपालिका–८ को रामपुरे टापुमा ५२ परिवार र जर्का टोलका २७ परिवारसहित ८२ जना प्रभावित भएका छन्। त्यस्तै सुन्दरनगर क्षेत्रमा १७ घर डुबानमा परेका छन्। प्रभावित परिवारलाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको विपद् शाखाले जनाएको छ।

नगरपालिका–१० शान्ति टोलका ३७ परिवारका करिब ५० जना सर–समान र चौपाया सहित अम्बिका माध्यमिक विद्यालय सारिएको छ।

शाखा प्रमुख बि.क.का अनुसार पानी नघटेसम्म प्रभावितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

Loading

Advertisement
Advertisement