कञ्चनपुर, असार ५ –
११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दोधारा चाँदनीमा भव्य योगाभ्यास कार्यक्रम आयोजना हुने भएको छ। पतञ्जली योग समिति, दोधारा चाँदनीको आयोजनामा असार ६ गते बिहान ५ बजेबाट कार्यक्रम हुने समिति सदस्यहरूले जानकारी दिएका छन्।
कार्यक्रम दोधारा चाँदनी नगरपालिका–२ स्थित चाँदनी पूर्व गा.वि.स.को प्राङ्गणमा रहेको खेल मैदानमा सम्पन्न हुनेछ। कार्यक्रमको मुख्य प्रशिक्षकको रूपमा पतञ्जली योग समितिका केन्द्रिय सदस्य लव राज भट्ट रहनेछन्।
त्यस्तै, प्रमुख प्रशिक्षकहरूमा प्रकाश बहादुर चन्द, राजेन्द्र सिंह भण्डारी र हस्तबहादुर सुनार (हरिओम सिंह रसाइली) रहने आयोजकले जनाएका छन्।
स्वस्थ जीवनशैलीका लागि योगको महत्त्वलाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रममा योगासन, प्राणायाम तथा ध्यानका विविध विधिहरू अनुभवी प्रशिक्षकहरूद्वारा अभ्यास गराइनेछ।
पतञ्जली योग समितिका अनुसार, विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सर्वसाधारण, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत समाजमा योगप्रतिको जागरुकता बढाउने र नियमित योग अभ्यासको संस्कार स्थापना गर्ने उद्देश्य राखिएको छ।
![]()