Clickable Banner Ad

सुन्दरनगरका बाढीपीडितको आक्रोश: राहत हैन, स्थायी बाँध चाहिन्छ

भुपेन्द्र ओली – अविरल वर्षासँगै जोगबुढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। हालसम्म करिब १५७ परिवार प्रभावित भएका छन्

Advertisement

दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका स्थानीय बासिन्दाले हरेक वर्ष बाढीका कारण घर, खेतबारी र पूर्वाधारमा ठूलो क्षति हुँदै आएको उल्लेख गर्दै केवल अस्थायी राहत वितरणमा सीमित रहने प्रथाले समस्या झन् बढाएको आरोप लगाए।

“हामीलाई चामल, टिन वा पैसा हैन, बाढी रोक्ने बाँध चाहिन्छ,” स्थानीय प्रेम रोकायाले भने। अर्की बाढीपीडित महिला तुलसा देवी तिरुवाले भनिन्, “राहत लिएर नआउनु होला, बाँध लिएर आउनु होला। राहत दिएर हाम्रो छोरा नाति पाल्न सक्नुहुन्न।”

कमला खड्काले हरेक वर्ष घर सफा गर्नुपर्ने, सामान नष्ट हुने तर सरकारले फोटो सेसनमै सीमित राहत बाँड्ने आरोप लगाइन्। “हामीलाई अब राहत चाहिँदैन, तटबन्ध चाहिन्छ,” उनले भनिन्।

स्थानीय सर्बजित रोकायाले समेत राहत फिर्ता गर्न तयार रहेको उल्लेख गर्दै भने, “जोगबुडा नदीमा दीर्घकालीन बाँध बाधिदिनुस्, त्यत्ति भए पुग्छ।”

बाढीपीडितहरूले सम्बन्धित निकायलाई तत्काल तटीय क्षेत्रमा स्थायी बाँध निर्माण गर्न आग्रह गरेका छन्।

Loading

Advertisement
Advertisement