दोधारा चाँदनी- शनिबार बिहान महाकाली प्रादेशिक अस्पतालमा सेवा व्यवस्थापनबारे प्रश्न उठ्ने घटना बाहिर आएको छ। गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल ल्याउँदा घण्टौँसम्म चिकित्सक नपाएको र परीक्षण रिपोर्टसमेत अधुरो दिइएको गुनासो आएको हो।
बिहान करिब ५ बजे हार्ट फेलियर, खुट्टामा सुजन तथा पेट र फोक्सोमा पानी भरिएको अवस्था भएका बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तर अस्पताल पुगेपछि करिब दुई घण्टासम्म कुनै चिकित्सक भेटिन नसकेको परिवारले जनाएको छ।
सरकारी बिदा परेको भन्दै फिजिसियन उपलब्ध नभएको र इमेर्जेन्सीमा समेत डाक्टर नभएपछि अन्ततः बाहिर मेडिकलमा बसेका एक सरकारी चिकित्सकलाई खोजेर ल्याउनुपरेको उनीहरूको भनाइ छ।
डाक्टरले सिफारिस गरेका परीक्षणका लागि फेरि अस्पताल पुग्दा बिरामीको स्वास्थ्य बिमा हुँदाहुँदै पनि बिमाबाट जाँच नहुने भन्दै आफ्नै खर्चमा परीक्षण गराइएको परिवारले जनाएको छ। तर दुई घण्टापछि रिपोर्ट लिन जाँदा पैसा तिरेर गरिएको जाँचको आधा रिपोर्ट मात्र दिइएको आरोप छ।
रिपोर्टबारे प्रश्न उठाउँदा सम्बन्धित कर्मचारीहरू चिया खाँदै बसेको र “यी जाँच किन गराउनु पर्यो?” भन्दै प्रतिक्रिया दिएको परिवारको दाबी छ। साथै “आज बिदा छ, भोलि आउनु” भन्दै बिरामीको अवस्थालाई गम्भीर रूपमा नलिएको पनि उनीहरूले बताएका छन्।
संयोगवश सोही समयमा कञ्चनपुर क्षेत्र नम्बर–२ बाट विजयी भएका
दिपक बोहरा पनि अस्पताल पुगेका थिए र अस्पतालको अवस्थाबारे जानकारी लिएको बताइएको छ।
परिवारका अनुसार पछि अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) ले कर्मचारीलाई फोन गरेर बोलाएपछि मात्र बाँकी रिपोर्ट प्रिन्ट गरेर दिइएको थियो।
यस विषयमा अस्पतालका सूचना अधिकारी शान्त प्रसाद जोशीसँग सम्पर्क गर्दा उनले इमेर्जेन्सी सेवामा २४ घण्टा एमबीबीएस डाक्टर उपलब्ध रहने व्यवस्था रहेको बताउँदै परीक्षणको प्रक्रियामा केही त्रुटि भएको हुनसक्ने प्रतिक्रिया दिएका छन्।
घटनापछि सर्वसाधारणले प्रश्न उठाएका छन्
गम्भीर बिरामी लिएर सरकारी अस्पताल पुग्ने नागरिकले सहज सेवा पाउने कि घण्टौँ डाक्टर खोज्दै हिँड्नुपर्ने?
![]()