दोधारा चाँदनी— असार ३० गते।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा रहेको चाँदनी खेलमैदान क्षेत्रमा गाई, गोरु, भैंसी, बाख्रा लगायतका घरपालुवा जनावर चराउने क्रम तीव्र रुपमा बढ्दै गएकोले स्थानीय निकायले कडा कदम चालेको छ।
आसपासका सम्पूर्ण वडावासी, कृषक, गाईवस्तु पालक तथा स्थानीय जनसमुदायलाई लक्षित गर्दै वडा कार्यालयले हालै एक सूचना जारी गर्दै खेलमैदानको सौन्दर्य, स्वच्छता र सार्वजनिक उपयोगमा असर गर्ने कार्य रोक्न स्पष्ट निर्देशन दिएको छ।
सूचनामा उल्लेख गरिएअनुसार, अबदेखि चाँदनी खेलमैदान, त्यसको अगाडि सडक किनार, तथा अन्य सार्वजनिक स्थलहरूमा पशु चराउन वा बाँध्न पूर्ण प्रतिबन्ध लगाइएको छ। वडा कार्यालयका अनुसार, यस्ता कार्यले सामुदायिक संरचना र जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ।
यसै सन्दर्भमा आज वडा नं. २ का वडा अध्यक्ष पदम सिंह रावल स्वयं नगर प्रहरीको टोलीसहित स्थलगत निरीक्षणमा निस्कनु भयो। निरीक्षणको क्रममा खेलमैदान भित्र गाई, गोरु, भैंसी र बाख्राहरू अवैध रूपमा बाँधिएको भेटिएपछि, सम्बन्धित व्यक्तिहरूलाई बोलाई तत्काल त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ।
🗣️ वडा अध्यक्ष पदम सिंह रावलले भन्नु भयो:
“खेलमैदान नगरवासीको साझा सम्पत्ति हो। यसलाई फोहोर गर्नु, जनावर बाँध्नु र चराउनु गैरजिम्मेवार कार्य हो। यस्ता कार्य अब सह्य हुने छैन। सूचनाको अवज्ञा गरिएमा नगर प्रहरीको सहयोगमा पशु नियन्त्रणमा लिइनेछ र कानुनअनुसार कारबाही गरिनेछ।”
वडाअध्यक्ष र वडा कार्यालयले पुनः सबै स्थानीयवासीलाई चेतावनी दिंदै सार्वजनिक संरचनाको संरक्षण र मर्यादा पालन गर्न अपील गरेका छन्।
![]()