कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा महिलाहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
नगरपालिकाको आयोजनामा वडा नम्बर ७, ८, ९ र १० का महिलाहरूलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। स्थानीय महिलाहरूको स्वास्थ्य अवस्था बुझ्न र गम्भीर रोगको प्रारम्भिक पहिचानका लागि शिविर प्रभावकारी भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
दोधारा चाँदनी नगरपालिका–९ की स्थानीय अनु रोकायाले यस्ता शिविरले महिलाहरूमा लुकेका रोगको पहिचान र ठूला रोगबाट बच्न सहयोग पुग्ने भएकाले आगामी दिनमा समेत नियमित रूपमा यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याइन्।
स्वास्थ्य शाखाकी वरिष्ठ अनमी निरीक्षक नारा पन्तका अनुसार महिलाहरूमा फिस्टुला, तल्लो पेट दुख्ने समस्या र पाठेघरको संक्रमणको दर उच्च रहेको पाइएकाले पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा फिस्टुलाको परीक्षणसहित प्रजनन सम्बन्धी विभिन्न रोगको परीक्षण र परामर्श सेवा प्रदान गरिएको हो।
नगरपालिका–१० मा आयोजना गरिएको शिविरमा करिब ३ सय जना महिलाको स्वास्थ्य परीक्षण हुने अपेक्षा गरिएको छ।
![]()