Clickable Banner Ad

दोधारा चाँदनीको गर्व महाकाली झोलुङ्गे पुल, तर गेटमा नामसम्म छैन

दोधारा चाँदनी, कञ्चनपुर —
सुदूरपश्चिम प्रदेशको पर्यटकीय पहिचान बनेको कञ्चनपुरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलको प्रवेशद्वारमै अहिलेसम्म पनि पुलको नाम वा विवरण उल्लेख गरिएको बोर्ड राखिएको छैन। एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको रूपमा परिचित यस पुलले दोधारा चाँदनीलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाए पनि संरचनागत बेवास्ता र प्रचारप्रसारको कमजोरी देखिएको छ।

Advertisement

आधिकारिक रूपमा “दोधारा चाँदनी झोलुङ्गे पुल” नाम दिइएको यो पुलले कञ्चनपुर जिल्लाको दोधारा र चाँदनी क्षेत्रलाई जोड्दछ। महाकाली नदीमाथि निर्माण गरिएको यो पुलको डिजाइन नेपाली इन्जिनियरले गरेका थिए।
तर, हरेक वर्ष दोधारा चाँदनी नगरपालिकाले पर्यटन प्रवर्द्धनका नाममा लाखौं रुपैयाँ बजेट छुट्याउँदै आएको भए पनि अझैसम्म स्वागतद्वार निर्माण, जानकारीमूलक बोर्ड राख्ने वा फोटो स्पट विकास गर्ने जस्ता आधारभूत संरचनामा समेत ध्यान दिइएको छैन।

स्थानीय बासिन्दा जितु चन्द भन्छन्, “हामीले यहाँ विदेशी पाहुना आउँदा पुल देखाउँछौं, तर गेटमा नाम पनि छैन भनेर लाज मान्नुपर्छ। बजेट कहाँ जान्छ थाहा छैन।” अर्का स्थानीय मन्नु सिंह भन्छन्, “नगरपालिकाले रंगिन कागजमा योजना बनाउँछ, तर वास्तविकतामा केही लागु हुँदैन।”

यता, दोधारा चाँदनी नगरपालिकाका एक कर्मचारी नाम नखुलाउने शर्तमा भन्छन्, “बजेट त छुट्याइन्छ तर योजना कार्यान्वयन र अनुगमनमा कमजोरी भएको हो।”
दोधारा चाँदनीको मुख्य पर्यटकीय गन्तव्य मानिने महाकाली झोलुङ्गे पुलको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा स्थानीय तहले अब गम्भीर ध्यान दिनु पर्ने माग स्थानीयहरूबाट तीव्र रूपमा उठिरहेको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement