दोधारा चाँदनी, बैशाख १२ ।
कृषकहरूको आर्थिक सशक्तिकरण तथा पशुपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले उन्नतशील साना किसान कृषि सहकारी संस्था लि. को आयोजनामा आजदेखि दोधारा चाँदनी नगरपालिका–७, बिजोरे टोल मा दुई दिने वित्तीय साक्षरता तथा पशुपालन तालिम सुरु भएको छ।
संस्थाको आफ्नै भवनमा सुरु भएको उक्त तालिमको उद्घाटन एक औपचारिक समारोहका बीच सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पूर्णबहादुर थापाले गर्नुभएको थियो भने नेपाल कृषि सङ्घका केन्द्रीय सदस्य धर्मसिंह कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भयो।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका पशु सेवा शाखाका प्रमुख नन्द राज भट्ट, तालिम प्रत्यक्षक कर्णबहादुर धामी, पशु विज्ञ धर्मराज जोशी तथा कृषक समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि कुँवरले सहकारी संस्था मार्फत सञ्चालन गरिने यस्ता कार्यक्रमहरूले कृषकहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वित्तीय साक्षरताको अभावले कृषकहरू ऋण, लगानी र जोखिमा सचेत नहुने समस्या देखिएको भन्दै, तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
पशु सेवा शाखाका प्रमुख भट्टले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै पशुपालन व्यवसायलाई वैज्ञानिक र दिगो ढंगले अघि बढाउन आवश्यक रहेको बताउनुभयो। तालिम प्रत्यक्षक धामी र विज्ञ जोशीले स्वास्थ्य व्यवस्थापन, पोषण, रोग नियन्त्रण, बजार पहुँच लगायतका प्राविधिक विषयहरूमा जानकारी प्रस्तुत गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा कुल ६० जना स्थानीय कृषकहरू सहभागी छन्। उनीहरूलाई आम्दानी–खर्च व्यवस्थापन, बचत–ऋण सञ्चालन, बीमा, लगानी जस्ता वित्तीय साक्षरतासँगै पशुपालनसम्बन्धी आधुनिक सीपहरूमा विस्तृत प्रशिक्षण दिइनेछ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष थापाले सहकारीको उद्देश्य, विगतका गतिविधि र भावी योजनाका बारेमा जानकारी गराउँदै कृषक लक्षित अझ उपयोगी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी कृषकहरूले तालिम उपयोगी भएको भन्दै खुशी व्यक्त गरेका थिए। तालिम भोलीसम्म सञ्चालन हुनेछ भने अन्तिम दिन प्रशिक्षण सहभागिता प्रमाणपत्र समेत वितरण गरिनेछ।