दोधारा चाँदनी, कञ्चनपुर — नेपाल विद्युत प्राधिकरण दोधारा चाँदनी शाखाको लापरवाही र सेवामा देखिएको अनियमितताले सेवाग्राही त्रसित बनेका छन्।
दोधारा चाँदनी खबरले समाचार सम्प्रेषण गरेपछि समस्या सतहमा आएको हो, तर सम्बन्धित निकाय र स्थानीय तह भने मूकदर्शक बनेका छन्।
सेवाग्राहीहरूले लगातार सामाजिक सञ्जालमा आक्रोश पोख्दै मिटर रिडिङ महिनौँसम्म नगर्ने, सर्भर डाउनको नाममा सेवामा ढिलासुस्ती गर्ने र पहिले तिरिसकेको बिल समेत नयाँ बिलमा जोड्नेजस्ता गम्भीर त्रुटिहरू दोहोरिँदै आएको बताएका छन्।
कसैले बिल तिरेर पनि रसिद नपाएको, कसैको मिटर बिग्रिएर महिनौँसम्म नयाँ मिटर नपाएको गुनासो गरिएको छ।
स्थानीय बासिन्दा अर्जुन कार्की भन्छन्, “हामीले पैसा तिरिसक्यौं, तर अर्को महिनामा उही रकम दोब्बर बनाएर पठाइन्छ। यो जनतामाथिको प्रत्यक्ष अन्याय हो।”
त्यस्तै, अर्का सेवाग्राही दीपेन्द्र कार्कीका अनुसार, “विद्युत कार्यालयले गुनासो सुन्छ भन्ने भ्रम मात्रै हो। सुधारका कुनै कदम देखिँदैनन्।”
समस्या सार्वजनिक भए पनि स्थानीय तह र सम्बन्धित निकायहरू मौन छन्। सेवाग्राहीहरूले तत्काल छानबिन र सुधारको माग गर्दै जनताको सहनशीलता अब परीक्षणमा परेको चेतावनी दिएका छन्।
![]()